जाँचबुझ आयोगको समय २० दिन थप
काठमाडौँ, ८ माघ – नेपाल सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
आयोग गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको थियो । आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
सुरुमा आयोगलाई तीन महिनाको समय दिइए पनि प्रतिवेदन तयारीको काम पूरा नभएकाले गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक अवधि थप गरिएको हो । आयोगका लागि यसअघि थपिएको समय आजै सकिँदै थियो ।
बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
साथै नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोकिएको जानकारी पनि उहाँले दिनुभयो । बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाइएको छ ।

