एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन हुने भएको छ । माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलाको अन्तिम दिन आज पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नुहुनेछ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

भेला समापन भएपछि अपराह्न ३ बजे सोही स्थानमा एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने नेता सूर्य थापाले जानकारी दिनुभएको छ । बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीको आगामी राजनीतिक र सांगठनिक योजनाबारे छलफल हुने जनाइएको छ ।

Facebook Comments Box