प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
काठमाडौँ, २१ असोज – जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये झण्डै पाँच हजार सात सय कैदीबन्दी अझै फरार रहेका छन् । मुलुकभर प्रदर्शन चर्किएसँगै विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कूल १४ हजार ५५३ बन्दी भागेका थिए । तीमध्ये हालसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी आठ हजार ८५१ जना पुनः कारागार फर्किएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले असोज १० गतेसम्म फरार बन्दीलाई स्वेच्छाले कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । तर, तोकिएको समयसम्म ठूलो संख्यामा बन्दी नफर्किएपछि सरकारले विशेष खोज तथा पक्राउ अभियान सञ्चालन गरिरहेको छ ।
अभियानअन्तर्गत सुरक्षाकर्मीले विभिन्न स्थानमा पक्राउ परेका कैदीलाई सम्बन्धित कारागारमा बुझाउँदै आएका छन् । फरार बन्दी खोजी तथा नियन्त्रणका लागि मन्त्रालयले प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिहरू समावेश रहने कार्यदल गठन गरेको छ । कार्यदलले फरार बन्दीको खोजी, नियन्त्रण र पुनः कारागार फिर्ता कार्य अघि बढाइरहेको छ ।
प्रदर्शनका क्रममा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए ।
त्यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटीस्थित बालसुधार गृहबाट ९६३ बालबन्दी फरार भएका थिए । सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागी मृत्यु भएको थियो । यस्तै, नौवस्ता बालसुधार गृहमा भएको झडपमा पाँच बालबन्दीको मृत्यु भएको थियो ।
कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई शीघ्र कारागार फर्कन आग्रह गर्दै सूचना जारी गरेका छन् । सरकारको आदेश अवज्ञा गरी नफर्किनेहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ । देशका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा हाल विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा भने कारागार छैन ।

