एनपीएल दोस्रो क्वालिफायर आज : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता, इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराएको चितवन उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । लिग चरणमा सुदूरपश्चिमले सात खेलबाट पाँच जितसहित १० अंक जोडेको थियो भने चितवनले तीन जित र एक खेल वर्षाका कारण रद्द हुँदा सात अंकसहित चौथो स्थान हासिल गरेको थियो ।

दुई टोलीबीच यस सिजन भएको लिग चरणको खेलमा सुदूरपश्चिमले चितवनलाई पराजित गरेको थियो । एनपीएल इतिहासमा पनि सुदूरपश्चिमले तीनमध्ये दुई खेल जितेको छ भने चितवनले एक खेल जितेको छ । चितवनका लागि श्रीलंकाली ब्याटर कामिल मिशारा मुख्य आकर्षण हुनेछन् । उनले काठमाण्डुविरुद्धको इलिमिनेटरमा ५९ बलमा अविजित १२० रन बनाएका थिए । त्यस्तै, रवि बोपारा, डाविड मलान र अर्जुन साउदको प्रदर्शन पनि चितवनका लागि महत्त्वपूर्ण हुनेछ ।

बलिङतर्फ रिजन ढकाल र कमलसिंह ऐरी चितवनका प्रमुख खेलाडी हुन् । रिजनले पछिल्लो खेलमा चार विकेट लिएका थिए भने कमलसिंहले प्रतियोगितामा १२ विकेट हात पारिसकेका छन् ।  यता, सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन निर्णायक हुन सक्छ । उनले प्रतियोगितामा २०२ रन बनाइसकेका छन् । बलिङतर्फ अनिल खरेल र स्कट कुग्लाइनले समान १० विकेट लिएका छन् ।

तर, पहिलो क्वालिफायरमा लुम्बिनीसँग सुदूरपश्चिमको ब्याटिङ कमजोर देखिएको थियो । उक्त खेलमा टोली १०५ रनमै समेटिएको थियो । त्यसैले चितवनविरुद्ध ब्याटिङ सुधार गर्नु सुदूरपश्चिमका लागि चुनौती हुनेछ । अर्कोतर्फ, चितवनले पछिल्लो खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर लगातार दोस्रो दिन खेल्नुपर्ने भएकाले खेलाडीको शारीरिक थकान व्यवस्थापन गर्नु चितवनका लागि चुनौती बन्न सक्छ ।

आजको खेलमा विजयी हुने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । चितवन पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने दोस्रोपटक उपाधि भिडन्तमा स्थान बनाउने प्रयासमा हुनेछ ।

Facebook Comments Box