परम्परागत खेतीभन्दा उखु खेतीमा बढी आम्दानी, कञ्चनपुरका किसान आकर्षित
कञ्चनपुर । परम्परागत रूपमा धान, गहुँलगायत खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान पछिल्लो समय उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् । अन्य बालीको तुलनामा बढी आम्दानी हुने भएपछि किसान व्यावसायिक उखु खेतीमा लागेका हुन् ।
भीमदत्त नगरपालिका–७ का किसान धनसिंह ठगुन्नाले उखु खेतीबाट परम्परागत खेतीको तुलनामा राम्रो आम्दानी हुने भएपछि व्यावसायिक खेती सुरु गर्नुभएको छ । सुरुमा दुई बिघा जग्गाबाट खेती गर्नुभएका उहाँले अहिले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहनुभएको छ ।
ठगुन्नाका अनुसार उखु खेतीमा तुलनात्मक रूपमा कम मेहनत र लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । पहिलो सिजनमा सबै खर्च कटाएर प्रतिबिघा करिब एक लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उखु एकपटक रोपेपछि लगातार तीन सिजनसम्म उत्पादन लिन सकिने भएकाले खेतीको लागतसमेत घट्ने उहाँको भनाइ छ ।
उत्पादित उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले किसानलाई प्रोत्साहन गर्न उखुको बीउ तथा कीटनाशक औषधिसमेत उपलब्ध गराउँदै आएको छ । ठगुन्नाका अनुसार धान र गहुँ खेतीबाट सबै खर्च कटाएर प्रतिबिघा बढीमा ४० हजार रुपैयाँ आम्दानी हुने गरेकोमा उखु खेतीबाट राम्रो उत्पादन भए प्रतिबिघा तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।
त्यस्तै, स्थानीय किसान तारा महरा पनि तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा संलग्न हुनुहुन्छ । उहाँले दुई बिघा जग्गामा बिक्रीका लागि उखु तयार गर्नुभएको छ भने थप १० बिघा जग्गामा उखुको बीउ रोपिरहनुभएको छ । उखु खेतीका कारण सिजनमा २० देखि २५ जनासम्मले रोजगारीसमेत पाउने गरेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन रहेको छ ।

