सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
सर्लाही, १८ माघ – सर्लाही जिल्लामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा साना–ठूला चारपाङ्ग्रे सवारी तथा मोटरसाइकल गरी ६४१ वटा सवारी दुर्घटना भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश मोटरसाइकल चालक तथा सवार रहेको उहाँले जानकारी दिनुभयो। जिल्लाका भित्री सडकखण्डमा दुर्घटना बढी हुने गरेको पाइएको भन्दै चालक तथा पैदलयात्रीद्वारा ट्राफिक नियम उल्लङ्घन नै दुर्घटनाको मुख्य कारण रहेको प्रहरीले जनाएको छ।
न्यूनीकरण गर्न विद्यालयका बालबालिका, स्थानीय बासिन्दा र पैदलयात्रीलाई सहभागी गराई दर्जनौँ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि प्रहरीले जनाएको छ। यसैबीच, ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेहरूबाट गरिएको कारबाहीबाट सोही अवधिमा रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ।
चालक अनुमतिपत्र नहुने, हेलमेट नलगाउने मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका सवारी, क्षमताभन्दा बढी सामान बोकेका ट्रकलगायत सवारीलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो। पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाका भित्री सडकखण्डमा विभिन्न समयमा सवारी जाँच गरी नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
साथै, लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको व्यवस्थाको कडाइका साथ अनुगमन हुँदै आएको छ। चालु आवको छ महिनामा जाँच गरिएका ७ हजार २७ वटा लामो दूरीका यात्रुवाहक बसमध्ये २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

