कहिलेसम्म निर्मला, समिक्षा, सुस्मिता बनिरहने ?

लेखक – अनिता भट्टराई………

बलात्कारका घटना सुन्दा वा समाचार पढ्दा म सधैं जस्तो विचल्लित हुन्थें। के गर्न सकिन्छ होला भनेर मनमा हुट्हुटी लागिरहन्थ्यो। तर कसरी अगाडी बढ्ने सोच बन्न सकि रहेको थिएन। यसै क्रममा १ मे २०२२ मा बुटवल दैनिकमा प्रकाशित “५१ बर्षीय बाबुले गरे आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार” शीर्षकको समाचार सार्वजनिक भयो ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका ५ मा घटेको यो घटनाले मलाई अत्यन्तै भावुक बनायो। लाग्यो केहि त गर्नै पर्छ। त्यस पछि यसप्रकारका समाचारहरुलाई गहिरिएर अध्ययन गर्दै टिपोट गर्न थालें। १ मे २०२२ पछि समाचारका माध्यमबाट प्राप्त केहि प्रतिनिधि घटनाहरुलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु।

३ मे- दाउन्ने साप्ताहिक “२३ वर्षीय पुरुषद्वारा २६ वर्षीय महिला बलात्कृत” ललितपुर महालक्ष्मी नगरपालीका-४। ४ मे- बिहानी खबर “कैलालीकी १७ वर्षीया किशोरी म्यादी प्रहरीबाट बलात्कृत” काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका-८ घटनामा संलग्न १८ वर्षीय पुरुष।
८ मे- कान्तिपुर दैनिक “माइत हिँडेकी महिला बलात्कृत” बाँके खजुरा गाउँपालिकाकी ४९ वर्षीया महिला ।

११ मे- इमेज खबर डट कम “पावर हारउसमा किशोरीमाथि जबरजस्ती करणी” बझाङ छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय पुरुषले १४ वर्षीया बालिकालार्इ । १३ मे- काठमाडौ आज “सिनेमा देखाउँछु राम्रा लुगा किन्दिन्छु भन्दै ४ महिनासम्म किशोरीलाई खेतमा लैजाँदै…” पर्सा जगरनाथपुर गाउँपालिका १ बस्ने २१ वर्षीय पुरुषले १५ वर्षीया बालिकालाई। यसै साथ बर्दियामा ५४ वर्षीय पुरुषले ५० वर्षीया महिलामाथि बलात्कार गरेको समाचार पनि समावेश छ।

१६ मे- (२ जेष्ठ) न्युज २४ “७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ” झापा मेचीनगर ७ का ५२ वर्षीय पुरुष।
यसै बीचमा भारतमा पनि यसै प्रकारका घटनाहरु घटेका समाचारहरु आइरहेका थिए साथै रुस युक्रेन युद्धमा पनि महिलाहरु माथि भएका दर्दनाक बलात्कारका समाचारहरु र दृश्यहरु आइरहेकै छन्।

२१ मे- इमेज खबर डट कम “कपिलवस्तुमा एक अपाङ्ग महिला बलात्कृत” कपिलवस्तु महाराजगञ्ज नगरपालिका ६ मा एक युवकले ३५ वर्षीय अपाङ्ग महिलामाथि। १८ मे sushikhanajaneyho टिकटक आइ डी मा राखिएका भिडियोहरु (Sushmita regmi part 1-20) सार्वजनिक भए। समिक्षाको घटना पनि अझै अनिर्णित अवस्थामा नै रहेको छ। यो हेरिसकेपछि भने म धैर्य बस्न सकिन। त्यसैले पहिलो चरणमा यिनै समाचारहरुको आधारमा केहि विश्लेषण गर्ने जमर्को गरेको छु।

बलात्कार जघन्य सामजिक/फौजदारी अपराध हो। यो सर्वव्यापी छ भन्ने कुरा माथि प्रस्तुत गरिएका घटनाबाट पनि पुष्टि हुन्छ । यस्तो अपराध न कुनै स्थान विषेशमा सिमित छ न कुनै एक राज्यमा। न कुनै उमेर समुहमा न कुनै जातिमा। न पहाड न मधेश न शहर न गाउँ। न कुनै धर्म सम्प्रदायमा न कुनै वर्गमा। न घरभित्र न बाहिर न कुनै पेशा व्यवसायमा ।

पहिले पहिले समाज अशिक्षित थियो त्यसैले यस्ता घटना घटेका हुन् भन्ने आधार पनि रहेन। अहिले समाज शिक्षित बन्दै गएको छ। समाजमा धेरै परिवर्तनहरु आइसकेका छन्। तर यस्ता घटनामा खै त परिवर्तन ? एउटी अपाङ्ग महिलामाथि पनि यति क्रुर बन्न सक्ने कस्तो मानसिकता हुँदो हो ? शिक्षित समाजमा नै परिवर्तित रुपमा झन जघन्य बलात्कार तथा अपराधिक घटनाहरु देखापर्न थालेका छन्। समिक्षा, सुस्मिता माथि भएका घटनाहरु उदाहरणका रुपमा प्रष्टै छन्।

अहिलेसम्म देख्दै सुन्दै आएसम्म र यहाँ प्रस्तुत गरिएका घटनाहरुलाई हेर्दा अपराधमा संलग्न व्यक्तिहरु दुई स्वभावका देखिन्छन्। एक आक्रामक प्रकृतिका जसले एकपटक घटना घटाउँछन् जुन शारीरिक रुपमा पीडादायी हुन्छ र ज्यानै जाने सम्मको हुन सक्छ। अर्को प्रकृतिका जो सालिन व्यक्तिका रुपमा प्रस्तुत भई व्यक्तिको कमजोरीलाई आधार बनाइ लामो समयसम्म पीडा दिइरहने । जसले पीडितलाई मानसिक पीडाको शिकार बनाइ रहेका हुन्छन् अनि झनै भयाभह पनि।

जुन रुपमा प्रस्तुत भएपनि अपराधी अपराधी नै हो। अपराध गरेपछि उसले कानुन बमोजिमको सजाय भोग्नै पर्छ। तर यि माथिका घटनाहरुलाई हेर्दा यस्ता प्रकारका घटनाहरु घट्न नदिन वा कमी ल्याउन कानुनी सजाय मात्र पर्याप्त हुँदैन। यसका लागि वृहत छलफल र बहस हुनु आवश्यक छ। समस्या त कति छन् कति त्यसलाई पर्गेल्नु भन्दा पनि कसरी यसको दीर्घकालीन समाधान गर्न सकिन्छ भन्ने विषयमा बहस अघि बढाउनु अहिलेको आवश्यक्ता हो।

के गर्न सकिन्छ त ?
कानुनको उचित कार्यान्वयन कानुनी कारवाही: नेपालको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुर र सजायको व्यवस्था गरिएको छ। जसमा करणी गर्दाको परिस्थिति र महिलाको उमेरका आधारमा सजाय तोकिएको छ जुन आफैमा अपुग छ। कुरा सजाय तोकिनुसँग मात्र सम्बन्धित रहेन यस्ता कानुनको कार्यान्वयन कति भएको छ भन्ने गम्भिर प्रश्न खडा भएको छ।

हिमाल खबरले ६ जेष्ठ २०७९ मा १४ कार्तिक २०७८ मा सार्वजनिक गरिएको उन्नती चौधरीको “बलात्कार मुद्दा: आधा भन्दा बढी फैसला अभियुक्तकै पक्षमा” भन्ने लेख सार्वजनिक भएको छ। जुन कैलाली जिल्ला अदालतमा एक वर्षमा फैसला भएका बलात्कारका मुद्धालाई आधार बनाएर तयार पारिएको हो। उक्त मुद्दाहरु कानुनी आधार नपुगेको भनि अभियुक्तको पक्षमा फैसला गरिएको भनि लेखमा उल्लेख गरिएको छ। यसबाट प्रष्ट हुन्छ कानुन बनेर मात्र हुँदैन कानुनको कार्यान्वयन कडाईका साथ लागू गर्नु पर्दछ।

जसका लागि सरोकारवालाहरु दृढ संकल्पित हुनुपर्छ। घटना घटि सकेपछि कार्वाहीको विषयमा भन्दा घटना नै घट्न नदिने विषयमा बहस र छलफल हुनु जरुरी छ। बलात्कार सम्बन्धी शिक्षा पाठ्यक्रममा समावेश गरिनु पर्छः बलात्कार तथा यैनजन्य हिंसा के हो ? कसरी थाहा पाउने ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा कक्षा ६ भन्दा माथिका पाठ्यक्रममा समावेश गरिनु पर्छ। यसका साथै यस्ता घटनाबाट बच्नका लागि आवश्यक “डिफेन्स तालिम” पनि अनिवार्य गरिनु पर्छ। जसका कारणले बालिकाहरुले घटना घट्न सक्ने संकेतहरु थाहा पाउन र आफुलाई सुरक्षित राख्न सकुन्। यति हुन सके घटना घट्ने प्रवृतिमा केहि कमि आउन सक्छ।

सचेतना कार्यक्रमः कक्षा छ भन्दा माथिका बालिकाका लागि पाठ्यक्रममा समावेश गरिएको विषयले सहयोग गर्ला तर १० वर्ष भन्दा मुनिका बालिका पनि यस्ता अपराधिक घटनाबाट अछुतो रहन सकेका छैनन्। १ मे २०१८ मा बिबिसी न्यूजले “एकतिहाई पीडित १० वर्षमुनिका बालिका” भनेर एउटा समाचार सार्वजनिक गरेको छ।

यहाँ समावेश गरिएका घटनाहरुमा पनि यो तथ्य देख्न सकिन्छ। यो उमेर समुहका बालिकाले न बलात्कार के हो बुझ्छन न आफूमाथि कस्तो घटना घट्दै छ भन्न् कुराको संकेत पाउँछन्। त्यसैले यो समूहका बालिकालाई सुरक्षित राख्नु झनै चुनौतिपूर्ण छ। यसका लागि उपयुक्त माध्यम स्थानीय सरकार हुन सक्छ। अहिले प्रत्येक पालिकाका हरेक वडामा कम्तिमा २ जना महिला सदस्य रहन्छन्।

उनीहरु मार्फत अभिभावक लक्षित सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने जसको परिणाम स्वरुप प्रत्येक अभिभावकहरु आफ्ना बालबालिका प्रति सचेत बनुन ।

नैतिक शिक्षा वा पारिवारिक शिक्षाः यौनजन्य हिंसा वा बलात्कार जस्ता घटनाहरु धेरै जसो घरपरिवार कै सदस्यहरुबाट वा चिनेजाने कै व्यक्तिहरुबाट हुने गरेका तथ्यहरु आउने गरेका छन्। यस्तै समाचार बिबिसी न्यूजले १८ फेब्रुअरी २०२१ मा सार्वजनिक गरेको थियो। जसमा “नेपालमा पाँच वर्षमा ८ हजार भन्दाबढी बलात्कार, झन्डै ६० हजार घरेलु हिंसाका उजुरी रहेको” तथ्य समावेश रहेको छ।

यस तथ्यबाट के प्रष्ट हुन्छ भने बालिकाहरु आफ्नै घरभित्र असुरक्षित छन् जुन झनै बिकराल समस्या हो। यसका लागि बालिका/महिलालाई भन्दा पनि बालक/पुरुष र बालकका अभिभावकलाई नैतिकता सिकाउनु जरुरी छ। समाजमा छोरीहरु नैतिक बन्नु पर्छ छोराले जे गरेपनि हुन्छ भन्ने सोच अझै हावी रहेको छ। जबसम्म बालक/पुरुषमा अरुलाई पनि दुख्छ भन्ने भावना जागृत हुँदैन तबसम्म यस्ता घटनामा कमि ल्याउन सजाय मात्रले सम्भव हुँदैन।

दबाब सिर्जनाः माथि प्रस्तुत गरिएका विषयहरु दीर्घकालीन समाधानका लागि हो। तत्कालमा अपराधीलाई कडा भन्दा कडा सजाय दिनका लागि दबाब सिजृना गर्नु जरुरी छ। जसरी अहिले सामान्य जनमानसदेखि सरकारसम्मको ध्यान केन्द्रित भएको छ यहि समयमा कानुनमा भएका कम्जोरीहरु (जस्तै उजुरीका लागि हद म्याद नतोक्ने) लाई सम्शोधन गर्नका लागि दबाब दिने।

अपराधीलाई उम्कन नदिनका लागि दबाब दिने। अपराधीलाई कानुनको दायरामा ल्याउनका लागि दबाब दिने। यसका लागि प्रत्येक सरोकारवाला निकायः घरपरिवार, समाज, स्थानीय निकाय, प्रहरी प्रशासन, न्यायिक निकाय, स्कुल, कलेज, नागरिक समाज, अधिकारवादी संघसंस्था, एनजिओ, आइएनजिओ हरुले संवेदनशील बनि सशक्त रुपमा दबाब सिर्जना गर्न आवश्यक छ।

अन्त्यमा यस्ता घटनाहरु मिनेट मिनेटमा घटिरहेका छन्। जति बाहिर आएका छन् त्यो भन्दा धेरैको संख्यामा दबिएर रहेका छन्। यस्ता घटनालाई बाहिर लिएर आउन सक्ने सशक्त छोरीहरु बनाउन नसके अझै कति छोरीहरु निर्मला, समिक्षा, सुस्मिता बनि रहनेछन्। छोरीहरुलाई निर्मला, समिक्षा, सुस्मिता नबनाउनका लागि उतिनै आवश्यक छ छोराहरुमा भावना र नैतिकताको बिजारोपण गर्न ।

लेखक – अनिता भट्टराई

Facebook Comments Box