पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी सुरु

काठमाडौँ, ८ माघ – पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा औद्योगिक सङ्घ–संस्थाबाट निवेदन आह्वान गरेको छ ।

कोषले आज सूचना जारी गर्दै महाशिवरात्रिमा देश–विदेशबाट आउने साधुसन्त, भक्तजन तथा तीर्थयात्रीका लागि निःशुल्क भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा, स्वयंसेवक सेवा लगायतका विभिन्न सेवा शिविर सञ्चालन गर्न इच्छुक सङ्घ–संस्था तथा प्रतिष्ठानलाई आवेदन दिन आग्रह गरेको हो ।

सूचना अधिकारी अनिता भट्टका अनुसार सेवा सञ्चालन गर्न चाहने संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नेपाल सरकारबाट प्रचलित कानुनबमोजिम दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन पेस गर्नुपर्नेछ ।

संस्थाले सेवाको प्रकृति, सङ्ख्या, सेवा शिविर सञ्चालन हुने अवधि लगायतका विवरण स्पष्ट रूपमा उल्लेख गरी माघ २० गतेभित्र आवेदन पेस गर्नुपर्ने कोषले जनाएको छ । तोकिएको म्यादभित्र विवरणसहित आवेदन नपुगेमा शिविर सञ्चालनका लागि स्थान उपलब्ध गराउन तथा सेवा कार्यमा सहभागी गराउन नसकिने पनि भट्टले जानकारी दिनुभयो ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण पशुपति क्षेत्रलाई महाशिवरात्रि पर्व २०८२ मा सभ्य, भव्य र दिव्य रूपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिताका लागि कोषले अपिल गरेको छ ।

यस वर्ष महाशिवरात्रि फाल्गुन कृष्ण चतुर्दशीका दिन अर्थात् आगामी फागुन ३ गते आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोमा उल्लेख छ ।

Facebook Comments Box