भोटेकोशी बाढीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई पेन्सन दिने प्रक्रिया सुरु

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा ज्यान गुमाएका श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षा कोषले पेन्सन उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कोषले बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका योगदानकर्ताका परिवारबाट प्राप्त निवेदनको परीक्षण थालेको हो । हालसम्म १७४ जना योगदानकर्ताका परिवारको दाबी परीक्षण भइरहेको कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कोषका अनुसार बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजना, बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीका परिवारले पेन्सनका लागि निवेदन दिएका छन् । कोषले मृतक योगदानकर्ताले बाढी आउनुअघिसम्म नियमित रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गरे वा नगरेको परीक्षण गरिरहेको छ । कोषको नियमअनुसार पेन्सन सुविधा प्राप्त गर्न रोजगारदातामार्फत सूचीकृत भई मृत्यु हुँदासम्म नियमित योगदान गरेको हुनुपर्ने व्यवस्था छ ।

भोटेकोशी बाढीबाट १५ स्थानीय तहमा रहेका ३९ रोजगारदाता प्रभावित भएका छन् । बाढीमा पाँच सयभन्दा बढी कर्मचारी तथा श्रमिकको मृत्यु भएको वा सम्पर्कविहीन भएको विवरण प्राप्त भए पनि सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने १७४ जना मात्रै रहेको पुष्टि भएको छ ।

कोषको व्यवस्थाअनुसार योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारले मृतकको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक निवृत्तिभरणका रूपमा प्राप्त गर्नेछन् । त्यस्तै, २१ वर्ष उमेर नपुगेका सन्ततिले अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम शैक्षिक वृत्तिबापत पाउने व्यवस्था छ ।

मृतक अविवाहित भएमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर प्राप्त गर्नेछन् । साथै, परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँसमेत पाउनेछन् । सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म एक हजारभन्दा बढी परिवारले आजीवन निवृत्तिभरण सुविधा प्राप्त गरिरहेका छन् । आश्रित परिवार योजनाअन्तर्गत अहिलेसम्म ४० करोड ५८ लाख रुपैयाँभन्दा बढी निवृत्तिभरण वितरण भइसकेको कोषले जनाएको छ ।

Facebook Comments Box