कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ, ८ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझ गर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ का एक, रौतहट क्षेत्र नम्बर–१ का एक र भक्तपुर क्षेत्र नम्बर–२ का दुई उम्मेदवारविरुद्ध दर्ता भएका उजुरी भने दाबी नपुगेको ठहर भई खारेज गरिएको छ । रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ ।

उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि सुरु गरिएको जाँचबुझ आज बेलुकी ५ बजेसम्म सम्पन्न भएको हो । अब उम्मेदवारको नामावली प्रकाशनको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

आयोगका अनुसार देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार पुरुष ३,०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी कुल ३,४८६ उम्मेदवारको उम्मेदवारी कायम भएको छ । तीमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको थियो ।

Facebook Comments Box