शेख हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा हिंसा चर्कियो
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किने घोषणा गरेपछि त्यहाँ राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनअघि र पछि राजधानी ढाकासहित विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् । हिंसाका क्रममा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखामा आगजनी गरिएको छ । त्यस्तै, चटगाउँस्थित युनुसको पैतृक घरमा समेत आगजनी भएको छ ।
बंगलादेशका ६४ मध्ये २८ जिल्लामा दर्जनौँ घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ । हिंसाका क्रममा ढाकामा कम्तीमा चार जना घाइते भएका छन् भने नराइल, फरीदपुर र पिरोजपुरमा राजनीतिक कार्यकर्ता तथा एक यातायात मजदुरसहित चार जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
अवामी लिगले पूर्वप्रधानमन्त्री हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । उनले आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा पनि बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको हो ।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई आतंकवादी संगठन र पराजित फासिस्ट शक्तिको संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् । बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बलका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् । गृहमन्त्री सलाहुद्दिन अहमदले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि प्रमाणका आधारमा कडा कानुनी कारबाही गरिने बताएका छन् । सन् २०२४ मा हसिना सरकार ढलेपछि मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो हिंसाले बंगलादेशमा राजनीतिक अस्थिरता पुनः चर्किएको संकेत गरेको छ ।

