एपीएफ महिला गोल्डकपको फाइनलमा प्रवेश

सुनसरी । नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको नवौँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । त्यसपछि खेलको ४४औँ मिनेटमा कप्तान गीता राणाले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गीता राणा प्लेयर अफ दी म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि फाइनलमा एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments Box