रात्री बसको खाना, खाए खाउ नखाए घिच

काठमाडौँ, २ वैशाख – मैले टीकापुरबाट काठमाडौँ फर्किनु थियो । २०७९ चैत २२ गते म काठमाडौँका लागि हिड्नु पर्ने भएकाले चैत २१ गते नै टिकट बुक गरे । गाडी दिउँसोको ४ बजे छुट्ने समय थियो । त्यसैले म पनि ४ बजे अगाडि टीकापुरको धुलाम्य सिटी बसपार्क पुगे ।

धनगढी जानका लागि दाजु राम बहादुर थापा र म हाम्रो घर देखि संगै एउटै रिक्सामा चढेर टीकापुरको सिटी बसपार्क आइपुग्यौ । मैले दाजुलाई धनगढीका लागि बिदाइ गरे अनि उहाले मलाई काठमाडौँका लागि । लगभग दिउसोको ३ः३० बजी सकेकोले खाजा खाने निहुमा म टीकापुर सिटी बसपार्क छेउको होटल च्याहार्न पुगे ।

होटेलको काउन्टरमा निन्याउरो अनुहार लगाएर पातलो ज्यान भएका सायद साहुजी होलान गमक्क बसेका थिए । होटलका सबै कुर्सि र टेबुल धुलोले भरिएका देखे पछि म फुरुक्क फर्के । धुलाम्मे सिटी बसपार्क र लम्की टीकापुर सडकबाट उड्ने धुलोका कारण वरिपरिका कुनै पनि होटलका खानाका परिकार खान लायक देखिदैन थिए ।

सिटी बसपार्क छेउमैमा एक जना दाइले चाउमीन पकाउदा रहेछन । ठेलामा राखेको चाउमीन पकाउने भाडो भरी धुलो बाहेक केहि देखिएन । अझ चाउमिन पकाउने भाडो छोपेको कपडा त धुलोमैलो थियो । त्यसपछि मैले खाजा खाने आँट गरेन । बस पनि आइ पुग्यो । सबै यात्रुहरु बसे । म पनि बस्न तयार भए । मेरो सिटमा अर्कै व्यक्ति थिए ।

मैले तुरुन्तै काउन्टरमा गएर बुझे पछि मेरो सिटको गडबडी मिल्यो । अनि गाडी लम्कीतर्फ हुइकियो । उफ दिक्क लाग्दो, शरीर दुखाउने लम्की टिकापुर सडकको अवस्था भद्रगोल छ, यो सडक विस्तारको नाममा सर्वसाधारणले दुःख पाउन थालेको वर्षौ भइसक्यो ।

तर काम निकै सुस्त गतिमा मात्र भएको छ । च्यातिएको लुगामा टालो हालेझै गरी सडक निर्माणको काम भइरहेको रहेछ । लम्की पुग्दा म चढेकै बसमा मेरो सिटको पछाडि दुई जना बहिनीहरु थिए । उनीहरु मध्ये एक जनाको टिकट लम्कीबाट अर्कैको नाममा काटि दिएका रहेछन । बस सञ्चालकहरुले काउन्टरवालालाई फोन गर हाम्रो के दोष भन्दै थिए । जसो तसो उनीहरुले एक जनालाई क्याबिन तिर बन्दोबस्त गरी सिटको झमेला टुंगाए ।

चिसापानी कर्णाली पुल पार गरे पछि बर्दिया राष्ट्रिय निकुञ्जको चेक पोष्ट नपुग्दै बसबाट एउटा राम्रो सूचना बज्यो । कृपया बस भित्रको फोहोर बाहिर नफालि दिनुहोला । यो सूचना यात्रुहरुसंगै संरक्षित क्षेत्रका लागि महत्वपूर्ण थियो । उक्त सूचना पछि सोहि बसका सम्पर्क व्यक्तिले यात्रुहरुलाई केहि कुरा सुनाउन थाले ।

उनले बस भित्र गर्न हुने र गर्न नहुने क्रियाकलापका बारेमा बताए । यो संगै उनले अर्को कुरा भने, हामी कोहलपुरबाट झण्डै ५० किलोमिटर पूर्वमा रातिको खाना खानेछौ । तर हामीले खुवाएको खानामा तपाईहरुले कुनै आलोचना गर्न पाइने छैन । उनको यो बोलीले यात्रुहरुलाई खाना जस्तो खुवाए पनि किचकिच गर्न पाइदैन भन्ने भाव सहजै बुझ्न सकिन्थ्यो ।

यो कुरा मलाई चित्त बुझेको थिएन, किनभने पैसा तिरेर खाने खानामा कमेन्ट गर्न मज्जाले पाइन्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न पाउनु आम उपभोक्ताको अधिकार हो । रातीको १० बजे हामी सवार बस दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ स्थित इमिलिया पुग्यो । उक्त बसको खाना खुवाउने स्टेशन जस्तैः इमिलियाको त्यहि एक होटेल रहेछ ।

अधिकांश यात्रुहरु ओर्लिएर होटेलमा पसे । खाना खान पहिले कुपन लिनु पर्ने रहेछ । सोहि बमोजिम यात्रुहरुले कुपन लिएर खाना मागे । मैले पनि त्यहि गरे । खानाको मूल्य फरक फरक थियो । सादा खाना २ सय ५० रुपैया, दही खाना ३ सय र चिकन खानाको ३ सय ५० रुपैया तिर्नु पर्ने रहेछ । मैले नन भेज खाना खाने भएकाले चिकेन खानाको कुपन लिएर लाइनमा बसे ।

एक जना भाइले हतार हतार खानाको थाली मेरो हातमा थमाए । खाना लिएर टेबुलमा बसे । खानामा पैसा अनुसारको कुनै स्वाद र गुणस्तर थिएन । मासुको नाममा १ टुक्रा ब्रोइलरको चोक्टो र तुरुक्क परेको झोल । तरकारीको नाममा खल्लो न खल्लो फर्सि र आलु मिसाएर नुन पानीमा घुलिएको मसला थियो । उक्त होटलको यो खानामा ठगी भइरहेको प्रष्टै छ ।

खाना निकै कमशल खालको भए पनि खानाको मूल्य भने महंगो नै हो । यो जानाजानी गरिएको व्यवहार हो । रात्री बसमा सवार यात्रुहरुलाई गाईवस्तुको झै गरेर जबरजस्ती उनीहरुकै सेटिंग मिलाइएको होटलमा गुणस्तरहिन खाना घिचाउनु कति सम्मको अन्याय हो । ए बा बा मान्छे हो, उसलाई मिठो मसिनो खान मन लाग्छ नै ।

तर रात्री बसवालाहरुले निःशुल्क खाना खुवाएझै गरी यात्रुहरुलाई बासि, कमशल खालको खाना खुवाउने होटल भिडाउने गरेका छन । अर्को बडो अचम्म लाग्दो कुरा यो छ की न त वरिपरि खाना पाउने कुनै अर्को होटल नै हुन्छ । यात्रामा भोकाएका यात्रुहरुलाई त्यहि होटलमा खान बाध्य पारिन्छ ।
यति मात्र कहा हो र, यस्ता होटलका कर्मचारीहरुको ग्राहकहरु प्रतिको व्यवहार झन तुच्छ खालको हुने गरेको छ । ग्राहकले खाना माग्दा स्टाफहरुबाट उल्टै ठाडो जवाफ फर्काउने गरेका छन । ग्राहक माथि खाने भए खा नत्र घिच भने जस्तै गराउँछन ।

यस्तो समस्या पूर्व पश्चिम राजमार्गमा गुड्ने रात्रीकालीन र दिवा सेवाका सार्वजनिक यातायातमा सवार गर्ने हरेक यात्रुहरुले झेल्दै आएका छन । बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, धादिङ लगायतका जिल्लाका राजमार्ग क्षेत्रका होटलहरुबाट यात्रुहरु नराम्ररी ठगिदै आएका छन । उनीहरुले खानाको गुणस्तर सुधार्नेतर्फ नभइ उल्टै मनलाग्दी पैसा असूलि गर्दै आएका छन ।

खाना, नास्ताको गुणस्तर अनुसारको मूल्य लिनु पर्नेमा आम उपभोक्तहरु महंगो शुल्कमा कमशल खाना खान बाध्य छन । यति मात्र होइन यस्ता होटहलहरुसंग बस सञ्चालकहरुको मिलेमतो हुने गरेको छ । होटलमा ग्राहकहरु पुर्याए बापत बसका कर्मचारीलाई निःशुल्क खाना र कमीसनको समेत व्यवस्था गरिन्छ ।

कमीसन र निःशुल्क खानाको चक्करमा गाडी सञ्चालक र यातायात कम्पनीहरुले सर्वसाधारणलाई गुणस्तरहिन खाना खान बाध्य पारीरहेका छन । राजमार्ग छेउछाउका यस्ता होटलहरुको गुणस्तर र मापदण्ड बारे सरकारी निकायले कुनै चासो देखाएका छैनन । सरकारले तोकेको मापदण्ड अनुसार सेवा प्रवाह गर्नेतर्फ सम्बन्धित निकायले कहिले सोच्ने हो ? रात्री बसका यात्रुहरु कुनै अपराधी होइनन, त्यसैले खानामा ठगी होइन गुणस्तर सुधार ।

गोपाल जंग थापा

Facebook Comments Box