तनहुँमा विकास आयोजनाका लागि ७१८ हेक्टरभन्दा बढी वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँ । तनहुँमा जलविद्युत्, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्टलगायत विकास आयोजनाका लागि ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ। डिभिजन वन कार्यालय तनहुँका अनुसार जिल्लामा सञ्चालित तथा निर्माणका विभिन्न चरणमा रहेका आयोजनालाई उक्त वन क्षेत्र प्रयोग गर्न दिइएको हो।

कार्यालय प्रमुख मनोज रानाभाटका अनुसार सबैभन्दा धेरै वन क्षेत्र तनहुँ जलविद्युत् आयोजनाले प्रयोग गर्ने अनुमति पाएको छ। यस आयोजनाका लागि ४१७ दशमलव ३४ हेक्टर वन क्षेत्र उपलब्ध गराइएको छ। त्यस्तै, ४०० केभी विद्युत् प्रसारण लाइन आयोजनाअन्तर्गत एमसीए नेपाललाई १४२ दशमलव ६६ हेक्टर र तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइनका लागि ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ।

मध्यमर्स्याङ्दी–डुम्रे–दमौली १३२ केभी प्रसारण लाइनका लागि १४ दशमलव ८५ हेक्टर र मस्र्याङ्दी करिडोरअन्तर्गत उदीपुर–न्यू भरतपुर २२० केभी प्रसारण लाइनका लागि १७ दशमलव ७५ हेक्टर वन क्षेत्र प्रयोग गरिएको छ। यसैगरी, बन्दीपुर केबलकार, बन्दीपुर माउन्टेन रिसोर्ट, वाराही क्वेयरी र सेतीखोला जलविद्युत् आयोजनाले पनि वन क्षेत्र प्रयोग गरेका छन्।

वन क्षेत्र प्रयोग गरेबापत सम्बन्धित आयोजनाले प्रचलित व्यवस्थाअनुसार जग्गा सट्टाभर्ना, क्षतिपूर्ति वृक्षरोपण तथा राजस्व भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार केही आयोजनाले जग्गा सट्टाभर्ना गरिसकेका छन् भने केहीमा क्षतिपूर्ति वृक्षरोपण, रूख छपान तथा कटानको काम भइरहेको छ। कतिपय आयोजनाले वार्षिक कबुलियती दस्तुर तथा राजस्वसमेत बुझाउँदै आएका छन्।

जिल्लामा जलविद्युत् उत्पादन र विद्युत् प्रसारण प्रणाली विस्तार भइरहेकाले ऊर्जा पूर्वाधार निर्माणका लागि वन क्षेत्रको प्रयोग बढेको हो। वन क्षेत्र प्रयोग गर्दा विकास निर्माणसँगै वन संरक्षण र क्षतिपूर्तिका व्यवस्था कार्यान्वयनमा जोड दिइएको कार्यालयले जनाएको छ।

Facebook Comments Box