स्विट्जरल्यान्डका हिमनदीले एक वर्षमै ५.५ प्रतिशत बरफ गुमाए

काठमाडौँ । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । विज्ञहरूका अनुसार यो अभिलेखमा दोस्रो ठूलो वार्षिक बरफ क्षय हो । ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब पाँचौँ भागले घटेको छ ।

ग्लामोसका प्रमुख तथा हिमविज्ञानका प्राध्यापक म्याथियास हसका अनुसार अल्पाइन हिमनदीहरू वर्तमान अवस्थामा लामो समयसम्म टिक्न सक्ने अवस्थामा छैनन् । अहिले देखिएको तापक्रम वृद्धि मानवजन्य जलवायु परिवर्तनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो । विशेषगरी जाडोयाममा पर्याप्त हिमपात नहुनु हिमनदीका लागि चिन्ताको विषय बनेको छ । हिमपातले पुरानो बरफलाई पग्लनबाट जोगाउनुका साथै उच्च उचाइमा नयाँ बरफ बन्ने आधार तयार गर्छ ।

सन् २०२२ मा अत्यधिक गर्मी, कम हिमपात र सहारा मरुभूमिबाट आएको रातो धुलोका कारण स्विट्जरल्यान्डका हिमनदीमा अहिलेसम्मकै तीव्र बरफ क्षय भएको थियो । यस वर्ष भने जुलाईदेखि सेप्टेम्बरसम्म करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान गरिएको छ । यो करिब ९१ लाख जनसङ्ख्या भएको स्विट्जरल्यान्डको वार्षिक पानी खपतको चार गुणा हो ।

यस वर्ष हिमनदीको औसत मोटाइ कतिपय क्षेत्रमा २.५ देखि चार मिटर र केही हिमनदीको अगाडिको भागमा १० मिटरसम्म घटेको पाइएको छ । एलालिन, क्लेरिडेन्ट, रोन तथा आल्प्स क्षेत्रको सबैभन्दा ठूलो एलेट्स हिमनदी पनि तीव्र रूपमा बरफ गुमाउने हिमनदीमा परेका छन् ।

स्विट्जरल्यान्डले आफ्नो आधाभन्दा बढी विद्युत् जलविद्युत्बाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग समेत जोडिएको छ । स्विट्जरल्यान्डलाई युरोपको ‘पानीको टावर’ मानिन्छ र डेन्युब, पो, राइन तथा रोनजस्ता महत्वपूर्ण नदीका जलस्रोतमा हिमनदीको योगदान छ ।

विज्ञहरूका अनुसार हिमनदी पग्लने प्रभाव स्विट्जरल्यान्डमा मात्र सीमित छैन । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय, ग्रिनल्यान्ड र अन्टार्कटिकासहित विश्वका विभिन्न क्षेत्रमा बरफ तथा हिमनदीमा तीव्र परिवर्तन देखिँदै गएको छ ।

Facebook Comments Box