उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न
सिरहा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको चारदिने छठ पर्व आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको हो ।
पर्वको पहिलो दिन व्रतालुले स्नान गरी चोखो भोजन गर्दै ‘नहाय–खाय’ विधि पूरा गरेका थिए । दोस्रो दिन निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ गरेका थिए । त्यसपछि षष्ठीको साँझ अस्ताउँदो सूर्य र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गरिएको हो ।
छठका अवसरमा ठकुवा, भुसुवा, उखु, मौसमी फलफूल, दहीलगायतका सामग्री सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ । यी सामग्री तयार गर्दा पवित्रता र शुद्धतालाई विशेष ध्यान दिने गरिन्छ । सूर्यदेवको आराधना गर्नाले परिवारमा सुख, शान्ति, आरोग्यता र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । पहिले मुख्यतः तराई–मधेशमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र र अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।
यस वर्ष सिरहा जिल्लाभर छठ पर्व शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । पर्वका क्रममा सुरक्षा व्यवस्थाका लागि जिल्लाका करिब पाँच सय ३२ छठ घाटमा सात सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

