आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
काठमाडौँ, २१ असोज – आजदेखि आश्विन शुक्ल पूर्णिमाका अवसरमा सुरु हुने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना देशभरका मठमन्दिर र घरआँगनमा आरम्भ हुँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी तुलसीको विशेष पूजा तथा आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति र श्रेय प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आजदेखि कार्तिक स्नान सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म चल्नेछ । कार्तिक स्नान गरेर सूर्योदयअघि तुलसीको पूजा आराधना गरे मनोकामना पूरा हुने र महापातकबाट मुक्त हुने धार्मिक मान्यता रहेको बताइन्छ ।
आकाशदीप दानका लागि बाँस, पलाँस, पीपल वा अन्य लिङ्गो ठड्याई दीप बाल्ने परम्परा छ । यो दीप भगवान् विष्णुलाई समर्पण गरी बालिने गरिन्छ । यस अवधिमा स्नान गर्ने व्यक्तिले दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमासजस्ता अन्न सेवन नगर्ने शास्त्रीय मान्यता पनि छ । आजैका दिन स्वयम्भू चैत्यलगायत देशभरका तीर्थस्थलमा महादीप दान गरिने परम्परा रहेको छ ।
यस्तै, आश्विन शुक्ल पूर्णिमाकै दिन पर्ने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको थियो । समितिका सदस्य भट्टराईका अनुसार मध्यरातमा पूर्णिमा परेमा कोजाग्रत व्रत गरिन्छ भने सूर्योदय वा सायंकालमा पूर्णिमा परेमा त्यसै दिनदेखि कार्तिक स्नान, आकाशदीप दान र तुलसी पूजा सुरु गर्ने विधान छ ।
वैदिक सनातन धर्मका ग्रन्थअनुसार कार्तिक महिनामा गरिएको स्नान र दान अक्षय फलदायी हुने विश्वास छ । यही अवसरमा देउसी–भैलो खेल्ने र दान दिने परम्परा सुरु भएको उल्लेख पाइन्छ ।

