उदयपुरको रैथाने बासमती धान लोपोन्मुख अवस्थामा
उदयपुर – उदयपुरमा कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका लागि प्रसिद्ध रैथाने बासमती धानको खेती घट्दै गएको छ । बढी उत्पादन दिने वर्णशङ्कर जातका धानप्रति किसानको आकर्षण बढ्नु, सिँचाइ अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत बढ्नुले रैथाने बासमती खेती लोप हुने अवस्थामा पुगेको हो ।
विशेषगरी त्रियुगा नदी आसपास उत्पादन हुने स्थानीय बासमती, कालो बासमती र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ । बढी मेहनत र समय लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले यसको खेती छाड्दै गएको बताएका छन् । स्थानीय किसानका अनुसार बजारमा कृत्रिम बास्ना मिसाइएका आयातित बासमती चामलको बिक्री बढेपछि स्थानीय उत्पादनले बजार पाउनसमेत कठिन भएको छ । अहिले कतिपय किसानले घरायसी प्रयोजनका लागि मात्रै रैथाने बासमती खेती गर्ने गरेका छन् ।
त्यस्तै, पर्याप्त सिँचाइ र कम्पोस्ट मलको अभावले पनि उत्पादन प्रभावित भएको छ । जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जानु र पशुपालन घट्नुले जैविक मलको उपलब्धतामा कमी आएको कृषि प्राविधिकहरूको भनाइ छ । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १२ हजार आठ सय ७७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । जिल्लाको कुल धानखेती क्षेत्रफलमध्ये सात हजार तीन सय तीन हेक्टरमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ ।
जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी क्षेत्रमा धानखेती हुँदै आएको छ । सिँचाइ सुविधा विस्तार, गुणस्तरीय बीउको उपलब्धता र संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन नसके उदयपुरको मौलिक रैथाने बासमती धानको पहिचान नै हराउने जोखिम बढेको छ ।

