पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
भोजपुर – भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको कपासे भञ्ज्याङ पूर्वाधार विकाससँगै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । पदमार्ग, प्रवेशद्वार, विश्रामस्थल तथा सुम्निमा–पारुहाङको सालिक निर्माण भएपछि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले कपासे भञ्ज्याङको पर्यटन प्रवर्द्धनका लागि मझुवा–कपासे भञ्ज्याङ पदमार्ग र विश्रामस्थल निर्माण गरेको छ । दुई जिल्लाको सङ्गमस्थलमा रहेको यस क्षेत्रको विकासका लागि भोजपुर र खोटाङका स्थानीय तहबीच सहकार्यसमेत भइरहेको छ ।
वडाध्यक्ष नभराज माङ्गपाहाङका अनुसार कपासे भञ्ज्याङलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा विकासका काम अघि बढाइएको उहाँले बताउनुभयो । कपासे भञ्ज्याङलाई ग्रेटर मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्यसमेत राखिएको छ ।
प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति र सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न सके पूर्वी पहाडी क्षेत्रकै आकर्षक गन्तव्य बनाउन सकिने स्थानीय तहको विश्वास छ । यस क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन बढ्न थालेपछि स्थानीय कृषि उत्पादनको बजारीकरणमा समेत सहयोग पुगेको स्थानीय बबिन्द्र राईले बताउनुभएको छ । कपासे भञ्ज्याङको थप प्रचारप्रसार, पर्यटन पूर्वाधार विकास र स्थानीय उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाउन सके यस क्षेत्रको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

