बन्दीपुरमा पर्यटकको चाप, होटल तथा घरबास भरिभराउ

तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै बन्दीपुरका होटल तथा घरबास भरिभराउ भएका छन् । पर्यटकको आगमन बढेपछि होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ । बासको व्यवस्था नहुँदा केही पर्यटक बन्दीपुरबाट फर्किनुपर्ने र कतिपय डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अनुसार यहाँका करिब ८० होटल र चारवटा घरबासमा गरी एक हजार चार सय जनालाई राख्न सकिने क्षमता छ । तर, पर्यटकको चापसँगै खानेपानीको अभावले होटल सञ्चालन र व्यवस्थापनमा समस्या थपिएको छ । होटल व्यवसायीका अनुसार चाडपर्वको बिदामा परिवार र साथीभाइसँग घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक बजार, मौलिक संस्कृति र हिमशृङ्खलाको दृश्यावलोकनका लागि बन्दीपुर पर्यटकको रोजाइमा पर्दै आएको छ । खड्गदेवी मन्दिर, थानीमाई, सिद्धगुफा, मिनी ग्रेटवाल, टुँडिखेल र तीनधारालगायत यहाँका प्रमुख पर्यटकीय आकर्षण हुन् ।पर्यटकको बढ्दो आगमनले स्थानीय होटल, रेस्टुरेन्ट र व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । तर, पर्यटकको चाप व्यवस्थापन गर्न आवास तथा खानेपानीको सुविधा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Facebook Comments Box