वीरगन्जका सबै गोदाम रासायनिक मलले भरिए

वीरगन्ज । वीरगन्ज नाका हुँदै रासायनिक मलको ठूलो परिमाण भित्रिएपछि कृषि सामग्री कम्पनीका वीरगन्जस्थित सबै गोदाम भरिएका छन् । भारतबाट सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत युरिया र डिएपी मल भित्रिन थालेपछि कम्पनीका आफ्ना १२ तथा भाडामा लिइएका आठ गरी २० वटा गोदाम भरिएका हुन् ।

कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका निमित्त प्रमुख दिनेश शर्माका अनुसार कार्यालय परिसरमा रहेका छ, भुटनदेवीमा रहेका छ तथा साल्ट ट्रेडिङका दुई गोदाम भाडामा लिएर मल भण्डारण हुँदै आएको छ । ठूलो परिमाणमा मल आएपछि परवानीपुरमा टेरा मोटर्सका पाँच र ओम्नीको एक गरी थप छ वटा गोदामसमेत भाडामा लिएर मल राखिएको छ ।

कम्पनीका १२ गोदामको कुल क्षमता २५ हजार एक सय मेट्रिक टन रहेकामा हाल २२ हजार ३१६ दशमलव १४ मेट्रिक टन मल भण्डारण गरिएको छ । यस्तै, भाडाका आठ गोदाममा ११ हजार ५४७ मेट्रिक टन मल राखिएको छ । यसरी कुल ३५ हजार एक सय मेट्रिक टन क्षमताका २० गोदाममा ३३ हजार ८६३ दशमलव ५० मेट्रिक टन मल भण्डारण गरिएको छ ।

वीरगन्ज भन्सारमा अझै साढे सात हजार मेट्रिक टन युरिया र एक हजार सात सय मेट्रिक टन डिएपी रहेको छ । भन्सारमा रहेको तथा आउँदै गरेको थप मल भण्डारणका लागि कम्पनीले १० हजारदेखि १५ हजार मेट्रिक टन क्षमताका थप गोदाम खोजिरहेको निमित्त प्रमुख शर्माले बताउनुभयो ।

हाल भण्डारण भएको मलमध्ये हिउँदे बालीका लागि १५ हजार सात सय मेट्रिक टन युरिया, आठ हजार नौ दशमलव ६४ मेट्रिक टन डिएपी र तीन हजार ४७१ मेट्रिक टन पोटास मौज्दात रहेको छ । यस्तै, करिब पाँच हजार ७६९ मेट्रिक टन मल बफर स्टकका रूपमा राखिएको छ ।

ग्लोबल टेन्डरबाट खरिद गरिएको थप ३० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपीसमेत भित्रिने क्रममा रहेकाले पर्याप्त भण्डारण पूर्वाधारको अभावमा मल व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सरकारले जिटुजी प्रक्रियामार्फत भारतबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरियामध्ये वीरगन्ज प्रादेशिक कार्यालयका लागि छुट्याइएको ११ हजार पाँच सय मेट्रिक टन आइसकेको छ । भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगन्ज नाका हुँदै भित्रिरहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, खरिद गरिएको २० हजार मेट्रिक टन डिएपीमध्ये हालसम्म चार हजार ९७७ मेट्रिक टन वीरगन्जमा भण्डारण भइसकेको छ । यसमध्ये सात हजार छ सय मेट्रिक टन वीरगन्ज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ भने बाँकी भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि रहेको छ । निमित्त प्रमुख शर्माका अनुसार अहिले धानबालीका लागि युरिया र डिएपीको माग नरहे पनि गहुँ तथा तेलहन बालीका लागि मल आवश्यक पर्ने भएकाले आगामी दिनमा यसको माग बढ्नेछ ।

Facebook Comments Box