इलामका तल्लो क्षेत्रमा धान भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान

इलाम – इलामका तल्लो क्षेत्रमा धान काट्ने र भित्र्याउने चटारो सुरु भएको छ । तिहार सकिएसँगै मौसम अनुकूल बनेपछि किसान धान काट्न, सुकाउन र थन्क्याउन व्यस्त भएका छन् । यस वर्ष समयमा वर्षा हुनु र धान भित्र्याउने समयमा घाम लाग्नुले उत्पादन राम्रो हुने अपेक्षा गरिएको किसानले बताएका छन् । माङसेबुङ, चुलाचुली, माई र रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा धान पाकेर खेत पहेँलपुर बनेका छन् ।

स्थानीय किसानका अनुसार चरा र मुसाबाट बाली जोगाउन तथा मौसम प्रतिकूल हुनुअघि धान भित्र्याउन किसानलाई चटारो परेको छ । कात्तिकको अन्तिम सातादेखि मङ्सिरसम्म इलामका किसान धान काट्ने र थन्क्याउने काममा व्यस्त हुने गरेका छन् । धान भित्र्याएपछि किसानले खेतमा तोरी, फापर, आलु, गहुँ, मकै तथा विभिन्न तरकारी खेती गर्ने तयारी गरेका छन् ।

कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा ११ हजार ६२ हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ । चुलाचुली र माई क्षेत्रमा व्यावसायिक रूपमा धानखेती हुने गरेको छ । जिल्लामा सावित्री र रञ्जितजस्ता उन्नत जातका साथै चिराखे, भँगेरे, चुल्ठे, मन्सुली र रामधानलगायत स्थानीय जातका धानखेती गरिन्छन् । समयमै रोपाइँ सम्पन्न भएकाले यस वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Facebook Comments Box