बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ । देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।बागमती प्रदेशकै रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द छन् ।
गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा पनि बाढीपहिरोका कारण यातायात प्रभावित भएको छ । मनाङको बेंसीसहरदेखि खाङ्सारसम्मको सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पनि ठप्प भएको छ ।
नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । यद्यपि, ठूला सवारीसाधन भने सञ्चालन हुन सकेका छैनन् । यस्तै, हुम्लामा पहिरोका कारण कर्णाली करिडोर तथा सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । खार्पुनाथ, सर्केगाड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ । अवरुद्ध सडक तथा राजमार्ग खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेका छन् ।

