पूर्वसूचनालाई समयमै पूर्वतयारीसँग जोड्न रेडक्रस महासचिव चापागाईंको आह्वान

काठमाडौँ – रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक विपद्बाट नागरिकलाई जोगाउन पूर्वसूचनालाई समयमै पूर्वतयारी र प्रतिकार्यसँग जोड्न आह्वान गर्नुभएको छ । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन कोप–३१ अन्तर्गत ‘सबैका लागि पूर्वसूचना’ विषयक विशेष सत्रलाई सम्बोधन गर्दै उहाँले पूर्वसूचना पाएपछि पनि सुरक्षित कदम चाल्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

महासचिव चापागाईंका अनुसार सन् २०२५ मा पूर्वतयारीका कारण ५४ देशका ९६ लाख नागरिकले विपद्को असर पर्नुअघि आफ्नो ज्यान र जीविकोपार्जन सुरक्षित गर्न सकेका थिए । सन् २०२२ मा ‘सबैका लागि पूर्वसूचना’ अभियान सुरु भएयता पूर्वतयारीसम्बन्धी नीतिगत संरचना बनाउने देशको सङ्ख्या ३५ बाट बढेर ७५ पुगेको उहाँले जानकारी दिनुभयो । अहिले विश्वका झन्डै ४० प्रतिशत देशमा विपद्अघि नै तयारी गर्ने स्पष्ट संयन्त्र क्रियाशील रहेको उहाँको भनाइ छ ।

उहाँले विपद् प्रभावित क्षेत्रका पाँच जनामध्ये चार जनाले पूर्वसूचना पाए पनि तीन जनामध्ये एक जनाले मात्रै त्यसअनुसार सुरक्षित कदम चाल्न नसक्ने अवस्था रहेको तथ्य प्रस्तुत गर्नुभयो । सूचना प्राप्त भएपछि त्यसलाई व्यवहारमा उतार्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विपद् आएपछि उद्धार र राहतमा मात्र निर्भर हुनुभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीमा लगानी गर्नुपर्ने उहाँको भनाइ छ । यसले मानवीय क्षति कम गर्नुका साथै आर्थिक नोक्सानीसमेत घटाउन सहयोग गर्ने उहाँले बताउनुभयो ।

महासचिव चापागाईंले सन् २०२७ पछि पनि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन राजनीतिक प्रतिबद्धता, पर्याप्त आर्थिक स्रोत र स्थानीय समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । स्थानीय समुदाय, राष्ट्रिय रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारको सहकार्यमा सरकारले पूर्वसूचना प्रणालीको नेतृत्व गर्नुपर्ने उहाँको आग्रह छ ।

Facebook Comments Box