आज जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौँ । देशभर आज नवयज्ञोपवीत अर्थात् जनै तथा रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइँदैछ। जनैपूर्णिमाका अवसरमा वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा गई स्नान गर्ने र गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार मन्त्र उच्चारण गरी विधिपूर्वक तयार पारिएको रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ। ब्राह्मण पुरोहितले वैदिक मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिने चलन छ।
जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले विधिपूर्वक पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने प्रचलन छ। त्यसअघि व्रत बसेका तागाधारीले पूर्णिमाको बिहान नदी, पोखरी, ताल तथा कुण्डमा स्नान गरी ऋषिहरूलाई तर्पण दिने गर्छन्।
कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा तथा तर्पण गर्ने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिन्छ। यज्ञोपवीतलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागोका रूपमा समेत लिइन्छ। जनै र रक्षाबन्धन बाँध्न काठमाडौँ उपत्यकाका पशुपतिनाथ, वसन्तपुरस्थित अशोकविनायकलगायत विभिन्न मठमन्दिर तथा नदी किनारमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।
जनैपूर्णिमाको अर्को महत्वपूर्ण परिकार हो, क्वाँटी। विभिन्न ११ थरिका गेडागुडी भिजाएर टुसा उमारेर बनाइने क्वाँटी आजका दिन खाने प्रचलन छ। क्वाँटी खाँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने र वर्षायाममा शरीरमा लागेको चिसो हटाउन सहयोग पुग्ने आयुर्वेदिक मान्यता छ।
यस्तै, नेपालको तराई क्षेत्रमा जनैपूर्णिमालाई दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयताको पर्वका रूपमा पनि मनाइन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र सुख–समृद्धिको कामना गर्ने चलन छ। पछिल्लो समय यो परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
जनैपूर्णिमाका अवसरमा काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधामका धनुषसागर र गङ्गासागर तथा नवलपरासीको त्रिवेणीधामलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा आज बिहानैदेखि मेला लाग्ने गर्दछ। जनैपूर्णिमा पर्वले धार्मिक आस्था, वैदिक संस्कारसँगै दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र सामाजिक सद्भावलाई समेत बलियो बनाउने विश्वास गरिन्छ।

