आज गुरु पूर्णिमा तथा व्यास जयन्ती, गुरुजनप्रति सम्मान व्यक्त गर्दै देशभर मनाइँदै
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती श्रद्धा र सम्मानका साथ मनाइँदै छ । यस दिन शिक्षा, दीक्षा र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ । धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो । अज्ञानरूपी अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने व्यक्तिलाई गुरु मानिन्छ । हिन्दु दर्शनमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपका रूपमा सम्मान गरिन्छ । त्यसैले ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः’ भन्ने श्लोक प्रचलित छ ।
माता–पितापछि गुरुको स्थान उच्च मानिने भएकाले ‘आचार्यदेवो भव’ भन्ने वैदिक मान्यताअनुसार यस दिन गुरुजनप्रति श्रद्धा व्यक्त गर्ने, आशीर्वाद लिने तथा सम्मान गर्ने परम्परा रहेको छ । विद्यालय, गुरुकुल तथा विभिन्न शैक्षिक र सामाजिक संस्थाले पनि विशेष कार्यक्रम आयोजना गरी गुरुहरूको सम्मान गर्दै गुरु पूर्णिमा मनाउने गरेका छन् ।
आजकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरेका महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा व्यास जयन्ती पनि मनाइन्छ । वेदव्यासले १८ पुराण, १८ उपपुराण तथा पाँचौँ वेदका रूपमा परिचित महाभारतको रचना गरेको धार्मिक विश्वास छ । वेदव्यासले पुराणमार्फत ‘अरूको उपकार गर्नु पुण्य र अरूलाई पीडा दिनु पाप हो’ भन्ने मानवतावादी सन्देश दिएको उल्लेख गरिन्छ ।
गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा देशभरका गुरुकुल, मठमन्दिर, शैक्षिक संस्था र धार्मिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । यसै अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौंको चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ, जहाँ गुरु पूर्णिमाको महत्वबारे प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

