राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ–छ जना प्रतिस्पर्धामा
बागमती, ११ माघ – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बागमती प्रदेशमा दुई सिटका लागि छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन् । बागमती प्रदेशमा महिला र अन्य गरी दुई सिटका लागि चार राजनीतिक दलबाट तीन महिला र तीन पुरुष उम्मेदवार प्रतिस्पर्धामा छन् । महिलातर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन उम्मेदवार हुनुहुन्छ ।
अन्य क्लस्टरतर्फ नेकपा (एमाले)का डा प्रेमप्रसाद दङ्गाल, नेकपाका प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराउनुभएको छ । बागमती प्रदेशमा प्रदेशसभा सदस्य ११० र स्थानीय तहका प्रमुख–उपप्रमुख २३८ गरी कुल ३४८ मतदाता रहेका छन् । प्रदेशको कुल मतभार १० हजार ३५२ रहेको छ ।
गण्डकी प्रदेश
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज गण्डकी प्रदेशमा पनि दुई सिटका लागि छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतदानका लागि सबै तयारी पूरा गरिएको छ । निर्वाचन कार्यालय परिसरमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ । एक केन्द्रमा ५९ प्रदेशसभा सदस्य र अर्को केन्द्रमा १६९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।
गण्डकीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा उम्मेदवार उठाएका छन् । महिलातर्फ एमालेकी सम्झना देवकोटा र अन्यतर्फ कांग्रेसका प्राध्यापक डा जगत् तिमिल्सिना उम्मेदवार हुनुहुन्छ । त्यसैगरी, नेकपाबाट महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटा र अन्यतर्फ शङ्करप्रसाद बराल उम्मेदवार रहेका छन् । गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् ।

