मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो, दुवैतर्फ सवारी आवागमन ठप्प

चितवन, १२ साउन – मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत खहरे खोला नजिक सुख्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुवैतर्फ सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय भरतपुरका अनुसार बिहान करिब ८:४५ बजे ठूलो परिमाणमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरो हटाउन घटनास्थलमा डोजरसहित आवश्यक मेसिन परिचालन गरिएको छ।

पहिरोका कारण मुग्लिनबाट नारायणगढतर्फ तथा नारायणगढबाट मुग्लिनतर्फ आवतजावत गर्ने सवारीसाधन सडकमै रोकिएका छन्। सडक डिभिजन कार्यालयले पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार सडक खुलाएर सवारी सञ्चालन पुनः सुरु गर्न करिब डेढ घण्टा लाग्न सक्ने बताइएको छ। कार्यालयले यात्रु तथा चालकलाई धैर्य गर्न र सम्बन्धित निकायबाट आउने थप सूचना पछ्याउन आग्रह गरेको छ।

Facebook Comments Box