बुबाको मुख हेर्ने दिन : देवघाट वृद्धाश्रममा दाताको पर्खाइमा ‘बा’ हरू

चितवन, ७ भदौ

पितृदेवो भवः—जन्म दिने बाबुलाई देवता समान मान्ने परम्परा अनुसार कुसे औँसीका दिन देशभर बाबुको मुख हेर्ने पर्व मनाइँदैछ। बाबुप्रति सम्मान प्रकट गर्न मिठो खाना खुवाउने र राम्रो लाउने परम्परा रहँदै आएको छ। बाबु गुमाएकाहरूले धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गर्ने चलन पनि छ।

तर देवघाट धाममा रहेका वृद्धाश्रमका वृद्धबाबुहरू भने दाताको पर्खाइमा बसेका छन्। जीवनको उत्तरार्धमा पुगेका धेरै वृद्धाश्रममा आमा–बाबुहरू परिवारबाट अलग भएका छन्, कतिपय आफैंको साहारा नहुँदा आश्रयका लागि यहाँ आएका हुन्। कुसे औँसीको दिनमा आश्रमका बासिन्दा आफ्ना सम्मानका लागि कोही दाता आइपुग्ने आशामा बस्छन्।

देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्ने ७५ वर्षीय कृष्णप्रसाद भट्टका अनुसार, “छोराछोरीले चाडपर्वमा समेत सम्झँदैनन्। यो दिन पनि आफ्नो मायालु सम्झँदैनन् भने मन अमिलो हुन्छ। आश्रममा जस्ले ‘बा’ भन्छ र खाना दिन्छ, उहाँहरू आफन्तजस्तै लाग्छन्।” भट्ट विगत आठ वर्षदेखि यही आश्रममा बस्दै आउनुभएको छ।

८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा पनि वैवाहिक जीवन सफल नभएपछि आश्रममा बसेका छन्। उनका जन्मिएका छोराछोरी नभएपछि, “जो आउँछ, त्यसैलाई छोराछोरी जस्तो लिनुपर्छ,” उहाँले सुनाउनुभयो।  ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित रहँदा पनि आश्रममा आउने जोसैले ‘बा’ भन्छ, त्यसलाई आफ्नै छोराछोरीजस्तै मानेर खुशी लाग्ने बताउनुभयो।

देवघाट क्षेत्रमा तीन वटा आश्रममा करिब ८० वृद्धवृद्धा बस्छन्। अहिले समाज कल्याण केन्द्रमा ३५ जना वृद्धवृद्धा छन्—१७ जना पुरुष र १८ जना महिला। व्यवस्थापनमा दाताको ठूलो योगदान रहँदै आएको छ। क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार, “दाताको सहयोगले वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था हुँदै आएको छ।

बजेट पर्याप्त नभए पनि सेवा निरन्तर राख्न सकिने गरी काम भइरहेको छ।” यसैबीच प्रेस चौतारी नेपाल चितवन शाखाले वृद्धाश्रममा दरखाने कार्यक्रम गर्दै वृद्धवृद्धालाई भोजन गराएको छ। शाखाले प्रत्येक वर्ष यसै कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो।

Facebook Comments Box