नेपाल रेडक्रस सोसाइटीको वार्षिक साधारणसभाद्वारा संशोधित मस्यौदा विधान पारित
काठमाडौँ, २८ पुस – नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन तथा केन्द्रीय सभाको वार्षिक साधारणसभाले संस्थाको संशोधित मस्यौदा विधान–२०८२ सर्वसम्मतिले पारित गरेको छ । विधानको मूल मर्म, रेडक्रसका सिद्धान्त, प्रचलित कानुन तथा अन्तरराष्ट्रिय मान्यतासँग मेल खाने गरी संशोधित विधान तयार पारिएको जनाइएको छ ।
हालै चितवनको सौराहामा सम्पन्न साधारणसभाले पारित गरेको उक्त विधानले दीर्घकालीन संस्थागत समस्या समाधान, सुशासन सुदृढीकरण तथा संस्थाको गरिमा पुनःस्थापना गर्न कोशेढुङ्गाको काम गर्ने विश्वास लिइएको छ । यस सभालाई नेपाल रेडक्रसको इतिहासमा एक निर्णायक चरणका रूपमा लिइएको छ ।
संशोधित विधान तयार गर्ने क्रममा नेपाल सरकारका मापदण्ड तथा सुझावसँगै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) को रायसमेत लिइएको जनाइएको छ । संशोधित विधानले संस्थालाई अझ परिवर्तित, गतिशील, पारदर्शी र समसामयिक बनाउने अपेक्षा गरिएको छ ।
सभाको बन्द सत्रमा महामन्त्री मीनबहादुर मल्लले संशोधित विधानसहित आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा चालु आव २०८२/८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष लोकदर्शन श्रेष्ठले आव २०८१/८२ को आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन र चालु आव २०८२/८३ को बजेट सभा समक्ष पेस गर्नुभएको थियो ।
सभाको शुभारम्भ सत्रमा केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले विधान संशोधन र वार्षिक साधारणसभा संस्थाको भविष्य सुनिश्चित गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो । सदस्य डा गङ्गाधर अधिकारीले रेडक्रसको असहज अवस्थाबाट बाहिर निस्कन विधान संशोधन र निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन अपरिहार्य रहेको उल्लेख गर्दै तदर्थ समितिले ९० दिनको कार्यादेशअनुसार जिम्मेवारीपूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।
पूर्वमहामन्त्री पीताम्बर अर्यालले पारदर्शिता, सुशासन र नैतिक आचरणबिना संस्था बलियो हुन नसक्ने उल्लेख गर्नुभयो । पूर्वउपमहामन्त्री हरि न्यौपानेले रेडक्रसले विगतमा धेरै आरोह–अवरोह पार गरेको स्मरण गर्दै अब सबै मिलेर यसको साख र गरिमा जोगाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअध्यक्ष सञ्जिव थापाले समयानुकूल सुधार आवश्यक भए पनि विधानको मूल मर्ममा आँच नआउने गरी संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष डा नेत्र तिम्सिनाले विधान संशोधनका क्रममा आएको जटिलताका बाबजुद सभाले विगतका तिक्तता मेट्दै आपसी सौहार्दपूर्ण वातावरण सिर्जना गरेको अनुभूति व्यक्त गर्नुभयो ।
रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) का नेपाल प्रमुख सन्देश श्रेष्ठले सबै पक्ष एकताबद्ध भई रेडक्रसको अन्तरराष्ट्रिय साख र विश्वास जोगाउनुपर्नेमा जोड दिनुभयो । आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले अन्तरराष्ट्रिय मापदण्ड, सिद्धान्त र मानवीय मूल्य संशोधित विधानमा समेटिनु आवश्यक रहेको सुझाव दिनुभयो ।
समापन समारोहमा रेडक्रस कास्की जिल्ला शाखाका सभापति उर्मिला खड्काले पारित विधानले महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेकोमा खुसी व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पङ्गेनीले सभाले संस्थागत सुदृढीकरण र भविष्यप्रति स्पष्ट मार्गनिर्देशन दिएको विश्वास व्यक्त गर्नुभयो । चितवन जिल्ला शाखा सभापति हरिप्रसाद पौडेलले जिल्लाले महत्वपूर्ण कार्यक्रम आतिथ्यता गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
सभामा नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक मोना अर्यालले संस्थाले सञ्चालन गर्दै आएका मानवीय सेवाका गतिविधिबारे जानकारी दिनुभएको थियो । सभामा सातै प्रदेश र ७७ जिल्लाका २५४ सभासद् तथा प्रतिनिधि, पूर्वपदाधिकारी, केन्द्रीय तदर्थ कार्यसमितिका पदाधिकारी तथा सदस्य, साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

