विराटनगरमा आज दिउँसो राधाकृष्ण रथयात्रा, प्रदेशका तीन जिल्लामा बिदा
विराटनगर, १ भदौ
कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्परागत राधाकृष्ण रथयात्रा आज दिउँसो विराटनगरमा आयोजना हुँदैछ । दिउँसो ३ बजेबाट सुरु हुने रथयात्रा बजार क्षेत्रमा करिब ९ किलोमिटर लामो परिक्रमा गर्नेछ । ५८ औँ संस्करणको यो रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भई तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी पुगेपछि पुनः मन्दिरमै समापन हुनेछ । नगर परिक्रमा क्रममा ४३ स्थानमा विश्राम लिइनेछ ।
वर्षौँदेखि निरन्तर चल्दै आएको यो रथयात्रा विराटनगरको सांस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ । यस अवसरमा नेपाल–भारतका हजारौँ भक्तजन सहभागी हुने गरेका छन् । रथयात्रालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले मोरङ, झापा र सुनसरी जिल्लामा आज सार्वजनिक विदा दिएको छ ।
वि.सं. १९८८ मा विराटनगर–१ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि २०२५ सालमा भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा पहिलोपटक रथयात्रा सुरु गरिएको थियो । त्यसयता यो परम्परा निरन्तर जारी छ । रथसँगै खटलाई पनि नगर परिक्रमा गराइन्छ ।
यस वर्ष विगतको रथलाई परिमार्जन गरी नयाँ शैलीमा निर्माण गरिएको छ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार पेगोडा शैलीमा बनेको रथ १९ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको छ । सबै दर्शकले सजिलै अवलोकन गर्न सक्ने गरी रथ बनाइएको जनाइएको छ । रथयात्राको विशेष आकर्षणका रूपमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रम पनि तय भएको छ ।

