प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव आज आउँदै
काठमाडौँ, १ भदौ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउने भएका छन् । मिश्री आज दिउँसो १ बजे भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्ल्ने कार्यक्रम रहेको छ । ओर्लेपछि उनले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणालगायत उच्चपदस्थ राजनीतिज्ञसँग भेट हुने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीसँगको भेटका क्रममा मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने जनाइएको छ । प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । मिश्रीको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच साझेदारी, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको र दुई देशबीच बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको बताएको छ । प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको पहिलो भारत भ्रमण हुन लागेको हो । भ्रमणको तयारीका लागि नेपाली–भारतीय परराष्ट्र सचिवबीच द्विपक्षीय एजेण्डा मिलाइने छ । यस पटक प्रधानमन्त्री मोदी र ओलीबीच बिहारको बोधगया स्थित बुद्धले ज्ञान प्राप्त गरेको ऐतिहासिक स्थलमा औपचारिक भेटवार्ता गराउने तयारी भइरहेको छ ।

