कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी बजारसम्म
सुनसरी, १ भदौ – सुनसरीको कोशीटप्पु क्षेत्रमा सङ्कलन गरिएको निगुरो काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारसम्म पुग्ने गरेको छ। स्थानीयका लागि निगुरो सङ्कलन आम्दानीको राम्रो स्रोतसमेत बनेको छ। कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहता विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आउनुभएको छ। उहाँका अनुसार बिहानै कोशीटप्पु क्षेत्रमा पुगेर निगुरो सङ्कलन गरी ल्याउने र स्थानीय व्यापारीलाई बिक्री गर्ने गरिएको छ।
निगुरो सङ्कलन गर्न लगानी आवश्यक नपर्ने भएकाले थोरै समय र मेहनतबाट आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ। मेहता दम्पती बिहान करिब ३ बजे घरबाट निस्किएर कोशीटप्पु पुग्ने र निगुरो सङ्कलन गरी छ–सात घण्टापछि घर फर्किने गर्नुहुन्छ। सङ्कलन गरेर ल्याएको निगुरो केलाएर मुठा बनाई व्यापारीलाई बिक्री गरिन्छ।
उहाँले दैनिक दुई हजारदेखि तीन हजार रुपैयाँभन्दा बढीको निगुरो बिक्री हुने गरेको बताउनुभयो। निगुरो थोकमा प्रतिमुठा करिब १० रुपैयाँमा बिक्री हुने गरेको छ। यसबाट बालबालिकाको खाजा तथा घरखर्च चलाउन सहयोग पुगेको उहाँको भनाइ छ।
भन्टाबारीकै आशादेवी पनि करिब १५ वर्षदेखि कोशीटप्पु क्षेत्रबाट निगुरो सङ्कलन गरी बिक्री गर्दै आउनुभएको छ। उहाँले दैनिक एक हजारदेखि दुई हजार रुपैयाँसम्मको निगुरो बिक्री हुने बताउनुभयो। व्यापारीले स्थानीयस्तरमै निगुरो खरिद गरेर लैजाने भएकाले बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ। निगुरोको सिजन वर्षमा करिब पाँचदेखि छ महिनासम्म चल्ने स्थानीय बताउँछन्। यही समयमा निगुरो बिक्री गरेर धेरै परिवारले घरखर्च जुटाउने गरेका छन्।
स्थानीय व्यापारीका अनुसार कोशीटप्पु क्षेत्रसँगै भारतबाट समेत सङ्कलन गरेर ल्याइएको निगुरो भन्टाबारीमा जम्मा गरी काठमाडौँ पठाउने गरिएको छ। व्यापारी भरतप्रसाद गुप्ताका अनुसार भन्टाबारीबाट मात्रै महिनामा १२ लाख रुपैयाँभन्दा बढी मूल्यको निगुरो काठमाडौँको कालीमाटी बजारमा पठाइने गरेको छ। अर्का व्यापारी रामबहादुर गुप्ताका अनुसार स्थानीयसँग प्रतिमुठा १० रुपैयाँमा खरिद गरिएको निगुरो काठमाडौँमा १८ देखि २० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। ढुवानीलगायत खर्च कटाएर व्यापारीले केही नाफा कमाउने गरेका छन्।
निगुरोको मौसममा भन्टाबारीमा सडकको एक छेउमा छुट्टै निगुरोको व्यापार हुने भएकाले यो क्षेत्रलाई स्थानीयले ‘निगुरो हाट’ समेत भन्ने गरेका छन्। वर्षमा करिब छ महिना सञ्चालन हुने यो व्यापारले स्थानीयको आम्दानी बढाउनुका साथै कोशीटप्पुको निगुरोलाई काठमाडौँको बजारसम्म पुर्याउने माध्यम बनेको छ।

