रु २ करोड ३० लाख लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण
झापा, १ भदौ
झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहकार्यमा कुल रु २ करोड ३० लाख खर्चेर शवदाह गृह तयार भएको हो । यसमध्ये कोशी प्रदेश सरकारको रु २ करोड, नगरपालिकाको रु २० लाख र दाताबाट रु १० लाख सहयोग गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार शवदाह गृह सञ्चालनका लागि प्रदेश सरकारसँग सम्झौता भइसकेको छ । “हामीले कार्यविधि समेत तयार गरिसकेका छौँ, एक साताभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी छ,” उहाँले भन्नुभयो ।
विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले निर्माण कार्य सम्पन्न गरी फर्किसकेको जानकारी दिनुभयो । गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको थियो ।
विद्युतीय प्रणाली प्रयोग गर्दा एक शव दहन हुन करिब ५० मिनेट लाग्ने बताइएको छ । परम्परागत रूपमा दाउरामा दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने भएकाले यसले समय र खर्च दुवै बचत हुने उल्लेख छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा कनकाई घाटमा विद्युतीय शवदाह गृह बनाउन रु २ करोड विनियोजन गरेको थियो ।
निर्माण सम्पन्न भएसँगै स्थानीय तहले माग गर्दै आएको आवश्यकता पूरा भएको छ । वि.सं. २०६७ मा स्थापना भएको कनकाई घाटमा हाल पाँचवटा चितास्थल सञ्चालनमा छन् । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि वातावरण संरक्षणमा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ

