आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्पराअनुसार धनतेरस मनाइँदैछ। तिहारअन्तर्गत कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ। आइतबार बिहान कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्षको भाइटीका भने कात्तिक २५ गते परेको छ।
सामान्यतया कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ। पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। उहाँका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत रहेको छ। यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो तथा धनियाँलगायत सामग्री खरिद गर्ने परम्परा छ। यसैबीच, धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पनि सुन तथा चाँदीका सिक्का बिक्री जारी राखेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट हिजोदेखि सुरु गरिएको सिक्का बिक्री आज पनि सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

