माध्यमिक परिक्रमाको सातौँ दिन : यात्री ध्रुवकुण्ड पुग्दै
महोत्तरी, १० फागुन – पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन्। गत बिहीबार चौथो दिन मटिहानी बाट महोत्तरी प्रवेश गरेका यात्रीले मटिहानी, जलेश्वर र मडैमा रात्रिबास सम्पन्न गरी आज बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्डतर्फ प्रस्थान गरेका हुन्। ध्रुवकुण्डदेखि मडैसम्म यात्रुको अटुट पङ्क्ति देखिएको छ भने मध्याह्नअघि सबै यात्री विश्रामस्थल पुग्ने आयोजकले जनाएका छन्।
धार्मिक मान्यताअनुसार सत्ययुगमा राजा उत्तानापादका छोरा राजकुमार ध्रुवले यही स्थानमा कठोर तपस्या गरेका थिए। हिन्दू धर्मग्रन्थमा ध्रुवलाई भगवान् विष्णुका २४ अवतारमध्ये एक मानिने भएकाले यो क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ।
यात्रामा सहभागी श्रद्धालुसँगै मिथिलाविहारी श्रीराम र श्री किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोली विश्रामस्थल पुग्दा दर्शनार्थीको भीड लाग्ने गर्छ। प्रत्येक विश्रामस्थलमा भजनकीर्तन र धार्मिक मेला लाग्ने परम्परा छ। ध्रुवकुण्डको रात्रिबासपछि यात्री भोलि आठौँ दिन कञ्चनवनतर्फ प्रस्थान गर्नेछन्। कञ्चनवन महोत्तरीमा पर्ने अन्तिम विश्रामस्थल हो। त्यसपछि नवौँ दिन धनुषातर्फ यात्रा अघि बढ्नेछ।
यो परिक्रमा प्राचीन मिथिलाको राजधानी जनकपुर लाई केन्द्र मानी करिब १३३ किलोमिटर क्षेत्रमा सम्पन्न गरिन्छ। १५ रात्रि विश्रामस्थलमध्ये महोत्तरीमा पाँच, धनुषामा छ र भारतको मधुवनी जिल्लामा चार विश्रामस्थल रहेका छन्। फागुन औँसीबाट प्रारम्भ भई पूर्णिमासम्म सञ्चालन हुने यस यात्राको मुख्य ध्येय मानव कल्याण रहेको बताइएको छ।

