दाङको हापुरेमा कस्मेटिक पसलमा आगलागी, सबै सामान जलेर नष्ट
दाङ । दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा आगलागी हुँदा एक कस्मेटिक पसल पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार बेलुकी करिब ८ बजे आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
आगलागी सुरु भएको दुई घण्टाभन्दा बढी समयसम्म पनि दमकल घटनास्थलमा पुग्न नसक्दा पसलका सबै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्। दमकल उपलब्ध नभएपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए। तर आगो ठूलो भएकाले उनीहरूको प्रयास सफल हुन सकेन। घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीसहितको टोली खटिएको थियो।
यस घटनाले पश्चिम दाङका स्थानीय तहमा दमकलको अभावलाई पुनः उजागर गरेको छ। तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चारवटा पालिकामा हाल सञ्चालनयोग्य दमकल नहुँदा आगलागीका घटनामा ठूलो क्षति हुने जोखिम बढेको स्थानीयको भनाइ छ।
यसअघि २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिकाको दमकलमा आगजनी भएको थियो। त्यसयता नयाँ दमकल खरिद हुन नसक्दा आगलागीका घटनामा हापुरेबाट करिब ४६ किलोमिटर टाढा रहेको घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता रहेको छ।

