राहुघाट जलविद्युत् आयोजनाको सुरुङबाट प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया सुरु

म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणबाट प्रभावित घरधनीलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले सुरुङ खन्न प्रयोग गरिएको विस्फोटक पदार्थको कम्पनका कारण घर भत्किएका तथा चर्किएका प्रभावितलाई क्षतिपूर्ति दिन निवेदन सङ्कलन सुरु गरेको हो।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झीको फेदीस्थित बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृहसम्म निर्माण गरिएको ६ किलोमिटर २७० मिटर लामो सुरुङका कारण प्रभावित भएका घरधनीले आगामी मङ्सिर ४ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।

आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार सुरुङ निर्माणबाट पूर्ण तथा आंशिक क्षति पुगेका घर र अन्य प्रभावित घरधुरीको विवरण सङ्कलन तथा क्षतिको अभिलेखीकरण गरी मूल्याङ्कनपछि सरकारी मापदण्डअनुसार क्षतिपूर्ति वितरण गरिनेछ। यसअघि सुरुङको सर्जसाफ्ट, प्रेसरसाफ्ट र अडिट नम्बर ३ आसपास कम्पनका कारण बस्न नमिल्ने भएका करिब ३० घरपरिवारलाई अस्थायी टहरा निर्माणका लागि एक लाख ७५ हजारदेखि तीन लाख रुपैयाँसम्म वितरण गरिएको थियो।

आयोजनाको सुरुङ क्षेत्रमा तीन सय ५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारिएको थियो। तर, प्रतिवेदनको जिम्मेवारीसम्बन्धी अन्योल र सम्बन्धित निकायको ढिलासुस्तीका कारण प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको स्थानीयको गुनासो छ। यसैबीच, भौतिक संरचना निर्माण सम्पन्न भएको राहुघाट जलविद्युत् आयोजनाले गत असोज पहिलो सातादेखि परीक्षण उत्पादन सुरु गरिसकेको छ।

भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो। आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

Facebook Comments Box