बाढीले बगर बनाएको खेतमा बदामखेती, दुई बिघामा २० क्विन्टल उत्पादन

झापा । बाढीले धानखेत बगाएर बगर बनाएपछि झापाका एक किसानले त्यही जमिनमा बदामखेती गरेर राम्रो उत्पादन लिन सफल भएका छन्। झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालले गत वर्षको बाढीले बगाएको दुई बिघा खेतमा बदामखेती गर्नुभएको हो। बाढीले उर्वर धानखेत बालुवाको बगरमा परिणत गरेपछि निराश हुनुभएका अग्रवालले विकल्पका रूपमा बदामखेती सुरु गर्नुभएको थियो।

उहाँले भारतीय बजारबाट १० किलो बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा जमिनमा परीक्षण खेती गर्नुभएको थियो। परीक्षण सफल भएपछि खेती विस्तार गरी दुई बिघा क्षेत्रफलमा पुर्‍याउनुभएको हो। यस वर्ष उहाँको खेतमा २० क्विन्टल बदाम उत्पादन भएको छ। अग्रवालले उत्पादन गरेको बदाम अहिले प्रतिकिलो १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ। उहाँका अनुसार धान तथा अन्य परम्परागत बालीको तुलनामा बदामखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएको छ।

जेठ महिनामा रोपिएको बदाम कात्तिकमा उत्पादन भएपछि अहिले उहाँलाई बाली भित्र्याउने चटारो छ। बाढीले क्षति पुर्‍याएको जमिनलाई सदुपयोग गर्दै नयाँ खेतीबाट आम्दानी गर्न पाउँदा आफू उत्साहित भएको अग्रवालले बताउनुभएको छ। झापाजस्तो तराई क्षेत्रमा बदामखेती सफल हुनुलाई कृषि क्षेत्रका लागि नयाँ सम्भावनाका रूपमा हेरिएको छ।

झापा गाउँपालिकाकी कृषि प्राविधिक रीता बर्देवाका अनुसार खुकुलो, हलुका तथा बलौटे दोमट माटो र न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिन्छ। बाढीले खेत बगरमा परिणत गरे पनि वैकल्पिक खेतीमार्फत आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अग्रवालको बदामखेतीले प्रस्तुत गरेको छ।

Facebook Comments Box