सेन्सर पास भएको फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न सञ्चार मन्त्रालयको निर्देशन
काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन तत्काल रोक्न सूचना तथा सञ्चार मन्त्रालयले निर्देशन दिएको छ। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेटसमेत पाइसकेको थियो। तर, सेन्सर पास भएको एक दिन नबित्दै मन्त्रालयले फिल्म निर्माण पक्षलाई प्रदर्शन नगर्न निर्देशन दिएको बताइएको छ।
स्रोतका अनुसार मन्त्रालयका कर्मचारीले फिल्मको बुकिङ नखोल्न भन्दै निर्माण पक्षलाई फोन गरेका थिए। गृहसचिवको निर्देशनअनुसार फिल्म रोक्न भनिएको र यससम्बन्धी पत्र बुझ्न सिंहदरबार आउनसमेत जानकारी गराइएको बताइएको छ। फिल्म निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले फिल्म प्रदर्शन रोक्न गृह मन्त्रालयलाई आग्रह गरेका थिए। त्यसपछि गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई फिल्म प्रदर्शन नगराउन निर्देशन दिएको स्रोतको दाबी छ।
फिल्म प्रदर्शन रोक्ने निर्णयप्रति फिल्मकर्मीहरूले आपत्ति जनाएका छन्। यस विषयमा चलचित्र विकास बोर्डले छलफल गरेर समाधान खोज्ने आश्वासन दिएको निर्माण पक्षको भनाइ छ। फिल्मको थिम पोस्टर सार्वजनिक भएदेखि नै एउटा समूहले फिल्मप्रति असन्तुष्टि जनाउँदै आएको थियो। फिल्मले आफ्नो आस्थामाथि चोट पुर्याएको भन्दै उक्त समूहले विरोध गर्नुका साथै मुख्य कलाकार हरिवंश आचार्यको समेत आलोचना गर्दै फिल्म बहिष्कार गर्नुपर्ने माग गरेको थियो।
निर्माण पक्षले यही समूहको दबाबका कारण फिल्म प्रदर्शन रोक्न निर्देशन दिइएको दाबी गरेको छ। महाभारतसँग प्रतीकात्मक सम्बन्ध देखिने फिल्म ‘पाँच पाण्डव’को मुख्य कथा भने दाजुभाइबीचको सम्बन्धमा केन्द्रित रहेको बताइएको छ।

