पाथीभरामा दर्शनार्थीको कीर्तिमानी भीड, एकैदिन १० हजारभन्दा बढीले गरे दर्शन

 ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा दर्शनार्थीको भीड बढेको छ। मंगलबार एकैदिन १० हजार ६ सय १६ जनाले मन्दिरमा दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार यस वर्ष एकैदिन दर्शन गर्ने भक्तजनको यो अहिलेसम्मकै ठूलो सङ्ख्या हो।

मौसम अनुकूल भएसँगै नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुगिरहेका छन्। आइतबार ६ सय ४० र सोमबार ३ हजार ५ सय ९० जनाले दर्शन गरेका थिए। अधिकांश दर्शनार्थी राति १ देखि २ बजेदेखि पैदल यात्रा सुरु गरी बिहान मन्दिर पुग्ने गरेका छन्। तल्लोफेदीबाट उकालो बाटो हुँदै मन्दिर पुग्न करिब तीनदेखि चार घण्टा लाग्ने गर्दछ।

दर्शनार्थीको चाप बढेसँगै फुङलिङ, सुकेटार, काफ्लेपाटी र फेदी क्षेत्रका होटल तथा आवासस्थल भरिभराउ भएका छन्। मेची राजमार्ग र तमोर करिडोरमा समेत सवारीसाधनको चाप बढेको छ। धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण पाथीभरा क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। दर्शनार्थीको सङ्ख्या बढेसँगै पदमार्ग, विश्रामस्थल, सरसफाइ र स्वास्थ्य सेवाको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

Facebook Comments Box