इजरायलमा चुनावी धाँधली भएको नेतान्याहुको पार्टीको आरोप

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै प्रहरी, आन्तरिक सुरक्षा निकाय र केन्द्रीय निर्वाचन समितिसँग छानबिनको माग गरेको छ। लिकुड पार्टीले अरब नेतृत्वका राजनीतिक दलहरूले घुसखोरी, धम्की, हिंसा, जालसाजी र प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेर मतदातालाई प्रभावित पारेको आरोप लगाएको छ। पार्टीले यससम्बन्धी सयौँ प्रमाण प्रहरी र सुरक्षा निकायलाई बुझाएको दाबी गरेको छ।

पार्टीका अनुसार प्रस्तुत प्रमाणमा नगद राखिएका खाम, राअम पार्टीका प्रचार सामग्री, धम्की तथा हिंसाका घटना र दोहोरो मतदानसम्बन्धी विवरण समावेश छन्। मतदाता ओसार्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको आरोपसमेत लिकुड पार्टीले लगाएको छ। अरब नेतृत्वका राअम र जोइन्ट लिस्टले ऐतिहासिक १९ सिट जित्ने अनुमान गरिएका बेला इजरायलको राजनीतिक समीकरण थप जटिल बनेको छ। यसले नेतान्याहुको गठबन्धन र विपक्षी दुवै पक्षलाई संसद्मा बहुमत जुटाउन कठिन बनाएको बताइएको छ।

यद्यपि, केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले भने चुनावमा धाँधली भएको दाबी अस्वीकार गरेका छन्। निर्वाचनअघि नै लिकुड पार्टीले अरब क्षेत्रका मतदान केन्द्रको नतिजालाई चुनौती दिने तयारी गरेको विवरण सार्वजनिक भएका थिए। आरोपमाथि आधिकारिक छानबिनबाट पुष्टि नभएसम्म निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्न नसकिनेछ।

Facebook Comments Box