चक्रवात ‘अर्नब’को प्रभावः देशभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आज र भोलि देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा हुनसक्ने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न पनि महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण चिसो बढ्नुका साथै पहिरो खस्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र जनजीवनमा असर पर्नसक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले अनुरोध गरेको छ ।

