यु–१९ एसिया कप क्रिकेट आजदेखि सुरु हुँदै, नेपालले भोलि भारतसँग खेल्ने
काठमाडौँ । यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ। ओमानको अल अमेरातमा आयोजना हुने प्रतियोगिता यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालले आफ्नो पहिलो खेल भोलि कात्तिक २० गते भारतसँग खेल्नेछ। त्यस्तै, कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स (युएई) र कात्तिक २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपाली टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।
प्रतियोगिताको उद्घाटन दिन आज दुई खेल हुँदैछन्। पहिलो खेलमा मलेसिया र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछन्।

