प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच आज भेटवार्ता हुँदै
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्री र प्रधानमन्त्री शाहबीचको भेटमा प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटवार्तापछि विदेश सचिव मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।
नेपाल भ्रमणका क्रममा मिस्रीले बुधबार परराष्ट्र सचिव राईसहित नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–भारतबीचको सहकार्य विस्तार तथा प्रधानमन्त्रीको आगामी भारत भ्रमणका क्रममा उठाउन सकिने विषयमा छलफल भएको थियो। मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि भेट गरेका थिए।
भेटवार्तामा द्विपक्षीय व्यापार प्रवर्द्धन, विकास सहकार्य, ऊर्जा क्षेत्रको सहकार्य विस्तार तथा हवाई, रेल, सडक र पुलमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयले प्राथमिकता पाएका थिए। साथै, नेपालमा सञ्चालित विभिन्न विकास आयोजनाको प्रगति र कार्यान्वयनबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लक्षित गरी भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण भएको हो। दुई देशका सचिव तथा मन्त्रीस्तरमा भ्रमणका सम्भावित विषयबारे प्रारम्भिक छलफल भए पनि प्रधानमन्त्रीको भारत भ्रमणको अन्तिम कार्यसूची भने तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

