वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै प्लास्टिकजन्य फोहोर नजलाउन महानगरको आग्रह
काठमाडौँ । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फोहोर नजलाउन सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरपालिकाको वातावरण विभागले सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उत्पन्न हुने धुलो, उद्योग कलकारखानाको धुवाँ र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने जनाएको छ।
वातावरण विभाग प्रमुख सरिता राईले वायु प्रदूषणबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले प्रदूषण नियन्त्रणका उपाय अपनाउन आग्रह गर्नुभएको छ। महानगरपालिकाले सवारीसाधनलाई प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डभित्र रहेर सञ्चालन गर्न, नियमित मर्मतसम्भार गर्न तथा निर्माण सामग्री सडक र फुटपाथमा थुपारेर नराख्न पनि आग्रह गरेको छ।
त्यसैगरी उद्योग, कलकारखाना तथा अस्पतालले महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड २०८१ अनुसार वायुको गुणस्तर र धुवाँसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। उद्योगहरूमा वायु प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग गर्न पनि महानगरले सम्बन्धित पक्षलाई सचेत गराएको छ। महानगरपालिकाले वायु प्रदूषण नियन्त्रणका लागि सर्वसाधारण, उद्योगी तथा निर्माण व्यवसायी सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

