दिल्ली र लाहोरमा वायु प्रदूषणको स्तर उच्च

काठमाडौं । उत्तर भारत र पाकिस्तानका केही क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च देखिएको छ । भारतको राजधानी दिल्लीमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३२ पुगेको छ, जुन ‘अति खराब’ श्रेणीमा पर्छ । यस्तै, पाकिस्तानको लाहोरमा एक्यूआई ४४७ पुगेको छ । त्यहाँको सूक्ष्म धुलोका कण (पीएम २.५) विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ६० गुणा बढी रहेको जनाइएको छ । सवारीसाधन, निर्माण गतिविधि र पराल जलाउँदा निस्कने प्रदूषक चिसो तथा बाक्लो हावामा जम्दा यस क्षेत्रमा धुवाँ र तुवाँलोको मिश्रण अर्थात् स्मग बढेको हो ।

यसले स्थानीय बासिन्दामा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य जोखिम बढाएको छ । दिल्लीमा प्रदूषण नियन्त्रणका लागि सवारीसाधन र निर्माण गतिविधिमा प्रतिबन्धलगायतका उपाय लागू गरिए पनि नोभेम्बर ८ मा पर्ने दीपावलीमा पटका पड्काउँदा प्रदूषण थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। सर्वोच्च अदालतले कम प्रदूषण गर्ने पटका मात्र प्रयोग गर्न अनुमति दिए पनि बजारमा सबै प्रकारका पटका बिक्री भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

Facebook Comments Box