तनहुँको झाङ्गाझोली, जडीबुटी उद्यानसहित पारिवारिक घुमफिरको आकर्षक गन्तव्य

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, जडीबुटी उद्यान, बाल उद्यान, स्थानीय परिकार र आरामदायी बसाइको सुविधाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो। पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने बाटोतर्फ करिब साढे एक किलोमिटर अगाडि पुगेपछि झाङ्गाझोली पुग्न सकिन्छ।

यहाँ रहेको गौरादेवी प्राकृतिक जडीबुटी उद्यान करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ। उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटी तथा वनस्पति रोपिएका छन्। रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम र टिमुरलगायत वनस्पतिको अवलोकन गर्न सकिन्छ।

बिरुवाको नाम र विवरणसहितका सङ्केतपाटी राखिएकाले पर्यटकले मनोरञ्जनसँगै जडीबुटीबारे जानकारी लिन सक्नेछन्। उद्यानमा जनावरका मूर्ति, ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा, बाल उद्यान र हरियालीले थप आकर्षण बढाएका छन्।

घुमफिरमा आउने पर्यटकका लागि स्थानीय कुखुरा र कालिजका परिकारसमेत उपलब्ध छन्। जन्मदिन, वैवाहिक वर्षगाँठलगायत पारिवारिक कार्यक्रमका लागि कार्यक्रम हल र क्याम्प फायरको सुविधा रहेको छ। रात बिताउन चाहनेका लागि वातानुकूलित कोठासमेत उपलब्ध छन्। कोठाको शुल्क प्रतिरात दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म रहेको छ।

झाङ्गाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्ज्वल पौडेलका अनुसार बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले प्रकृतिसँग रमाउँदै पारिवारिक समय बिताउन सक्ने वातावरण यहाँ छ। उद्यानका सञ्चालक बासुराज दाहालका अनुसार बिदाका दिन पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्।

करिब एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उद्यान तथा अन्य भौतिक संरचनाले क्षेत्रको आकर्षण बढाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा स्थापना गरिएको यस उद्यानलाई जडीबुटी तथा वनस्पति संरक्षणसँगै शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

Facebook Comments Box