काँकरभिट्टाबाट चार महिनामा छ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

झापा, १८ मङ्सिर – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट छ अर्ब रुपियाँभन्दा बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो।

भन्सार अधिकृत एवं सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको आयात रु ११ करोड ९२ लाख ५४ हजार (२.०१ प्रतिशत) ले वृद्धि भएको छ। आयात बढेसँगै राजस्व आम्दानी पनि २.९० प्रतिशत अर्थात् रु आठ करोड ४१ लाख २२ हजार ले बढेको छ। चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट कुल रु दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ।

चार महिनामा आयात विवरण

  • पेट्रोल:
    ३५ हजार १५६ किलोलिटर
    मूल्य — रु तीन अर्ब १० करोड ५४ लाख

  • डिजेल:
    १८ हजार ४०८ किलोलिटर
    मूल्य — रु एक अर्ब ७४ करोड ६८ लाख

  • एलपी ग्यास:
    ८ हजार ५५७ मेट्रिक टन
    मूल्य — रु ८२ करोड ६३ लाख

  • एटिएफ (एभिएसन फुयल):
    २ हजार ९०८ किलोलिटर
    मूल्य — रु २६ करोड ३३ लाख

  • मट्टितेल:
    ५०८ किलोलिटर
    मूल्य — रु चार करोड ६१ लाख

Facebook Comments Box