भोजपुरमा लाइ किराको प्रकोपले धानबालीमा क्षति, किसान चिन्तित
भोजपुर – भोजपुरमा धान भित्र्याउने समयमा लाइ किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। किराले धानको फेदमा क्षति पुर्याउँदा बोट ढल्ने, बाला सुक्ने र परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन्। भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिनुभयो।
विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्याएको उहाँले बताउनुभयो। त्यस्तै, स्थानीय किसान गीता विष्टका अनुसार किराले धानको फेदबाट रस चुस्दा बोट सुक्ने र बाला कालो भएर झर्ने समस्या देखिएको छ।
धान पाकेर भित्र्याउने समयमा बालीमा क्षति पुगेपछि वर्षभरि खाने मुख्य अन्नबालीको उत्पादन घट्ने चिन्ता किसानमा बढेको छ। धानसँगै पशुचौपायाका लागि आवश्यक परालसमेत नष्ट हुन थालेपछि किसान थप समस्यामा परेका छन्।

